अमेरिका ‘राजनीतिक भाइरस’ बाट संक्रमित: चिनियाँ विदेशमन्त्री

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसलाई लिएर अमेरिकाले षडयन्त्र तथा झुट फैलाइरहेको चीनका विदेश मन्त्रीले आरोप लगाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीले यो रुप लिनुमा चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दोषी रहेको बताउँदै आएका छन्।

उनले चीनले सूचना लुकाएको तथा बेलैमा उपयुक्त कदम नचालेका कारण अहिलेको अवस्था आएको आरोप लगाउने गरेका छन्। यस्तै ट्रम्पले कोरोना भाइरस चीनले निर्माण गरेको अभियोगसम्म लगाउने गरेका छन्।

चीनले ती सबै आरोप स्पष्ट रुपमा अस्वीकार गर्दै आएको छ। 

चीनका विदेशमन्त्री वाङ्ग यीले आइतबार पत्रकारसँग अमेरिका ‘राजनीतिक भाइरस’बाट संक्रमित भएको बताएका छन्। महामारी नियन्त्रणका लागि चीनले जिम्मेवार भएर सुरक्षित रुपमा काम गरेको उनले दाबी गरे। 

कोरोना भाइरस महामारीलाई लिएर अमेरिका र चीनबिचको सम्बन्धमा थप तनावको अवस्था सिर्जना भएको छ। अमेरिकाका केही राजनीतिज्ञ अमेरिका–चीन सम्बन्ध खराब बनाउन लागि परेको उनको आरोप छ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ९७ हजार ६८६ जनाको ज्यान गएको छ। यस्तै कुल संक्रमितको संख्या अमेरिकामा १६ लाख ४१ हजार भन्दा बढी रहेको छ।

उनले अमेरिकालाई समय बर्बाद नगर्न सुझाव दिए। कोरोना भाइरसविरुद्धको अभियान प्रभावकारी नहुँदा अमेरिकामा धेरै अमूल्य जीवनहरु गएकाले त्यस तर्फ ध्यान दिन उनले अमेरिकालाई आग्रह गरेका छन्। 

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक नेता जो बाइडेनको सामना गर्न लागेका ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको काम अपर्याप्त रहेको भन्दै आलोचना हुने गरेको छ।

प्रकाशित मिति: : 2020-05-25 08:53:09

प्रतिकृया दिनुहोस्