देश र जनताको लागि उच्च मनोबलकासाथ खटिन महानिरीक्षक खनालकाे निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलकासाथ खटिन निर्देशन दिएका छन्।
    
हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानि चिन्ह्र लगाइदिए पछि मातहत अधिकृतहरुलाई उनले सो निर्देशन दिएका हुन्।

नेतृत्व तहले राष्ट्र¸ जनता र संगठनको हितमा कार्य गरेको भन्दै उनले आफूले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरे भनेर सोच्नु पर्ने बताए।
    
सामुहिक भावनाले कार्य गर्न मातहतलाई निर्देशन दिँदै महानिरीक्षक खनालले आफूलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मुलुक र जनताको हितमा हरसमय कार्य गर्न समेत निर्देशन दिए।
    
‘राष्ट्र सेवक कर्मचारीहरुको मनोबल उच्च राख्‍ने कार्यमा कमाण्डरहरु थप जिम्मेवार हुनुपर्छ। पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने तत्व हो। सो परिवर्तनले समग्र मुलुक र जनतालाई फाईदा पुर्‍याउँछ,’उनले भने।

राष्ट्र¸ राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रसेवक कर्मचारीहरु ईमान्दार र कर्तव्य निष्ठ भई देश र आम नागरिकको सेवा¸ सुरक्षा सहयोग तथा उद्दारमा अविचलित भई अहोरात्र खटिन समेत निर्देशन दिए।     

सो अवसरमा उनले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा बोर्डर आउट पोष्ट १ वर्ष भित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १ सय २३ ठाउँमा स्थापना भइसकेको र यस विचमा उत्तर तर्फ २ वटा वोर्डर आउट पोष्ट स्थापना गर्न सफल भएको जानकारी समेत दिए ।

प्रकाशित मिति: : 2020-05-24 18:59:01

प्रतिकृया दिनुहोस्