थापाथलीमा मृत्यु भएकी सुत्केरीको कोरोना रिपाेर्ट नेगेटिभ

बिएल संवाददाता

काठमाडाै‌ं

थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उपचारका क्रममा काठमाडौ‌ंस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा मृत्यु भएकी उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि स्वाब पठाइएको थियो।

शनिबार राति नै उनको रिर्पोट नेगेटिभ आएको अस्पतालका निर्देशक डा‍.जागेश्वर गौतमले बताए। ‘उनको स्वाब परीक्षण गरेका थियौं,’ उनले भने, ‘तर रिर्पोट नेगेटिभ आयो।’

उनीलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो। चिकित्सकले शिशु  अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो।  

सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन्। त्यहाँ उनका परिवारले रु दुई लाखभन्दा बढी खर्च गरेका जनाइएको छ। अस्पतालमा थप शुल्क तिर्न नसकेपछि उनीलाई घर फर्काएको थियो। 

तर उनलाई गाह्रो भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार ४ बजे काठमाडौं‌ ल्याइएको थियो। उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो।

उनलाई न्यूरो सम्बन्धी उपचार खाँचो थियो र त्यसका लागि भेन्टिलेटरसहितको आईसीयू आवश्यक थियो।

तर सो अस्पताल प्रसूति तथा स्त्रीरोग सेवाका लागि केन्द्रीय विशेषज्ञ अस्पतालको रुपमा रहेको छ।   

अन्य सरकारी अस्पतालले भर्ना लिन नमानेपछि उपचार अभावमा शुक्रबार राति नै उनको मृत्यु भएको थियो। पशुपति आर्यघाटमा उनको दासंस्कार गरिने उनका आफन्त अमर चापागाइँले जानकारी दिए।

प्रकाशित मिति: : 2020-05-24 14:38:52

प्रतिकृया दिनुहोस्