भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन हजार ८ सय ६७ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै १ सय ४७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि एक लाख ३१ हजार ८६८ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ७६७ नयाँ संक्रमित फेला परेका छन्।
भारतका लागि संक्रमितको यो संख्या एकै दिनमा भेटिएका सबैभन्दा धेरे संक्रमितको संख्या हो।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४७ हजार १९० पुगेको छ।
महाराष्ट्रमा अहिलेसम्म एक हजार ५ सय ७७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ।
त्यस्तै तमिलनाडुमा अहिलेसम्म १५ हजार ५१२ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १०३ जनाको मृत्यु भएको छ।
यता गुजरातमा अहिलेसम्म १३ हजार ६६४ संक्रमित पुगेका छन्। यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८२९ पुगेको छ।
मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार ३७१ संक्रमित फेला परेका छन्। यो राज्यमा २८१ जनाको मृत्यु भइसकेको छ।
भारतको पश्चिम बंगालमा तीन हजार ४५९ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २६९ पुगेको छ।
उत्तर प्रदेशमा पनि संक्रमित संख्या ६ हजार १७ पुगेको छ। उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १५५ जनाको मृत्यु भएको छ। बिहारमा दुई हजार ३८० संक्रमित पुग्दा ११ जनाको मृत्यु भइसकेको छ।
भारतमा अहिलेसम्म ५४ हजार ४४१ संक्रमित निको भएर घर फर्किएका छन्।