जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी र्दि ।
आगलागीबाट रु १६ लाख ११ हजार ३०० बराबरको क्षति पुगेको छ । राति आगलागी भएकाले भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको सार्कीले बताए । चार वर्षदेखि उक्त उद्योग सञ्चालनमा थियो । मोफ्लावासीले कुटानी, पिसानी र काठ च्यात्नेदेखि सबै सेवासुविधा मिलबाट लिँदै आएका थिए । आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं यन्त्र जलेर नष्ट भएको पीडित सार्कीलाई उद्धृत गर्दै सिञ्जा गाउँपालिका–३ धितालीका पूर्णप्रसाद धितालले जानकारी दिए ।
आगलागी भएपछि बड्की प्रहरीचौकी तथा स्थानीय बासिन्दाको सहयोगमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । फर्निचर उद्योगमा रहेका यन्त्र, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु १६ लाख ११ हजार ३०० बराबरको क्षति भएको हो ।
आगलागीबाट फर्निचरसँगै गोदामघर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका हुन् ।