‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो।
इन्द्र्रै बिन्ति गरुन, झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो।
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्देन त्यो।
मृत्युको शाश्वतताका बारे कवि शिरोमणि लेखनाथ पौड्यालले कालमहिमा भन्ने आफ्नो कवितामा लेखेका पंक्तिहरु हुन यी। कवि शिरोमणिले इंकित गरेको ‘टारेर टर्दैन त्यो’ भनिएको मृत्युले कोभिड(१९ को महामारीपछि टार्न सकिने मृत्यु पनि टार्न नसकिने बनेको छ। कोरोना भाइरसले हाललाई मृत्युको अवधारणा, प्रकृति, संस्कार र विधिलाई पनि संक्रमण गरेको छ। भाइरसको महामारीले ‘जिउँँंदाको जन्ती मर्दाका मलामी’ भन्ने नेपाली उखानलाई अर्थहीन बनाइदिएको छ। बन्दाबन्दी, आइसोलेसन र क्वारेन्टाइनले सामाजिक प्राणी रहेको मानिसलाई नितान्त एक्लो र मृत्युलाई त्योभन्दा पनि बढी त्रासदीपूर्ण, निरस र एकांकी बनाइदिएको छ। यसरी महामारीको पृष्ठभूमिमा मृत्युको पहिचान र सामाजिक परिकल्पना फेरिएको छ।
कोभिड–१९का कारण नेपालमा पहिलो मृत्युवरण गरेकी सिन्धुपाल्चोककी २९ वर्षकी महिलाको धुलिखेल अस्पतालदेखि आर्यघाट (विद्युतीय शवगृह) सम्मको अन्तिम यात्रामा केही स्वंयसेवी र उनका पतिमात्र सहभागी भए। बाँकेका २५ वर्षका अर्का मृतकको पनि अन्तिम दाहसंस्कार त्यस्तै रह्यो। उनको धार्मिक चलन अनुसार प्रहरीले मृतक ती युवकको शव जमिनमा गाडेका थिए। कोरोना भाइरसका संक्रमणका कारण बिहीबार ज्यान गुमाएका गुल्मीका ४१ वर्षका शिक्षकको अन्तिम संस्कार यो समाचार लेख्दासम्म कसरी गर्ने भनेर निक्र्योल भैसकेको छै्रन। तर निश्चित के छ भने उनको अन्तिमसंस्कार पनि पहिलेको जस्तो हुने छैन।