विश्व बैंकले घोषणा गर्‍यो १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज

बिएल संवाददाता

न्युयाेर्क

विश्व बैंक समूहले कोभिड–१९ को प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ।

मार्चयता कोभिडका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको पुनरुद्धार, स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न आर्थिक प्याकेज घोषणा गरिएको विश्व बैंकले जनाएको छ।

जसका लागि विश्व बैंकले कूल १ खर्ब ६० अर्ब अमेरिकी डलर (१९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी) रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको छ। विश्वमा कुल जनसंख्याको करीव ७० प्रतिशत प्रतिनिधित्व गर्ने १ सय विकासशील मुलुक यो प्याकेजबाट लाभान्वित हुने भएका छन्। यसका साथै विश्व बैंकका अनुसार यस्तो सहायता ३९ अफ्रिकी मुलुकले पाउने छन्। यसबाहेक द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान, चाड, हाइटी, नाइजरजस्ता मुलुक पनि समावेश छन्। 

तर अनुदान र सहुलियतपूर्ण ऋणका रुपमा यो रकम मुलुकहरुले प्राप्त गर्ने छन्। संकटपछि विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो र छिटो आएको सहयता हो। 

सोमबार स्वीकृत भएको सहायता आगामी १५ महिनाभित्र क्रमशः तोकिएका मुलुकहरुले प्राप्त गर्ने भएका छन्। यो सहायताले मुलुकहरुलाई चरम आर्थिक संकटबाट माथि उठाउन कोशेढुंगा सावित हुने विश्वास विश्व बैंंकले गरेको छ।

कोभिडका कारण ठप्प भएको आर्थिक गतिविधिका कारण संसारभर करीव ६ करोड मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंक समुहका अध्यक्ष डेभिड मालपासले १ सय मुलुकमा आपतकालीन अपरेसनका लागि विश्व बैंकले याे सहायता घोषणा गरेको बताएका छन्। यसबाट अन्य दाताहरुले पनि आफ्नो सहायता अगाडी लैजान मद्दत पुग्ने उनको विश्वास रहेको छ।

गरिबीबाट बचाउन, स्वास्थ्य आपतकालिन आवश्यकताको परिपूर्ति गर्न, निजी क्षेत्रलाई सहयोग गर्न र अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन सहयोगी सावित हुने विश्वास लिइएको उनले जनाएका छन्।
 

प्रकाशित मिति: : 2020-05-20 07:34:18

प्रतिकृया दिनुहोस्