नेपालमा मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल कोरोना संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरूमा १७ देखि ४२ वर्ष उमेर समूहका छन्। जसमध्ये २४ पुरूष र ३ महिला छन् ।
आज भेटिएका संक्रमितहरु झापाका ९ जना, कपिलवस्तुका ४ जना, काठमाडौंका ३, सर्लाहीका २, सुनसरीका १, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १, नवलपारासीका १, ललितपुरका १ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
झापामा एकैदिन ९ जना थपिए
मंगलबार झापामा सर्वाधिक ९ जना संक्रमित थपिएका छन्। झापा जिल्लाको कचनकबल गाउँपालिकामा पछिल्लो समय भारतबाट आएकाहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो। ९ जना संक्रमित मध्ये ७ जना पुरूष र १ जना महिला छन्।
भारतको मुम्बईबाट दिल्लीहुँदै नेपाल आएर क्वारेन्टाइनमा बसेका एकै गाउँका १० जनामा कोरोना देखिएको हो। यसअघि सोमबार एक जनामा संक्रमण देखिएको थियो।
काठमाडौं उपत्यकामा ५ जना थपिए
काठमाडौं उपत्यकामा मंगलबार ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ३ र भक्तपुर तथा ललितपुरमा १-१ जनामा संक्रमण देखिएको हो।
सिन्धुली, रामेछाप र लमजुङमा पहिलो पटक संक्रमण
सिन्धुली, रामेछाप र लमजुङमा मा पहिलोपटक संक्रमण पुष्टि भएको छ ।
तीनै वटा जिल्लामा १-१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
संक्रमित जिल्ला ३६
नेपालका ७७ मध्ये ३६ जिल्लामा कोरोना संक्रमण देखिएको छ। हालसम्म जम्मा संक्रमितको संख्या ४०२ पुगेको छ ।
परीक्षण
हालसम्म पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको कोरोना परीक्षण गरिएको छ भने आररडीबाट ७४ हजारभन्दा ६४९ पुगेको छ।
डिस्चार्ज
आज मात्रै झापाका ६२ पुरुष कोरोनामुक्त भएर २५ दिनपछि अस्पतालबाट घर फर्केका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३७ पुगेको छ। यसअघि उदयुपरका १४, कैलालीका चार, पर्साका तीन, काठमाडौंका तीन जना डिस्चार्ज भएका थिए।
यसैगरी, झापामा यसअघि दुई, चितवनमा दुई र बागलुङमा दुईजना कोरोनामुक्त भइसकेका छन्। भोजपुर, धनुषा, रौतहट, धादिङ, रूपन्देही र कञ्चनपुरका एक/एक जना निको भएर घर फर्किसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४०२ पुगेको छ भने यसमा दुई जनाले ज्यान गुमाइसकेका छन्।