लकडाउन : कालीगण्डकी करिडोरका पुल निर्माण हुँदै

बन्दाबन्दीबीच  राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पाल्पा रामपुर नगरपालिकाका तीन खोलामा पक्की पुल निर्माणको काम सञ्चालन गरिएको छ।

वर्षा शुरु हुनु अगावै सक्नुपर्ने तथा बाढीले क्षति पु¥याउन सक्ने पुलको काम बन्दाबन्दीका समयमा पनि पुनःसञ्चालन गरिएको हो।

 रामपुर वडा नं ३ र ४ जोड्ने अँधेरीखोलाको पुलको ढलानको काम पुनः  सम्पन्न भएको छ। सो पुलको २० मिटर लम्बाइ र  ११ मिटर चौडाइमध्ये गाडी गुड्ने भाग साढे सात मिटरको रहेको छ।

 त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत नगरपालिकाका वडा नं ७ र ८ जोड्ने तुरुन्दे खोलामा निर्माणाधीन पुलको काम करीब ९० प्रतिशत सकिसकेको छ।  आगामी असार मसान्त अगावै सक्नुपर्ने भएकाले पुलको बाटाको रुपरेखा मिलाउने, काँटछाँट गर्नेलगायत काम भइरहेको सहायक सुपरभाइजर दामोदर भण्डारीले जानकारी दिए। 

'सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटरमा साढे सात मिटर गाडी गुड्ने छ। वडा  नम्वर १० मा पर्ने पाँच सय खोलामा निर्माणाधीन पुलको ढलानको  काम भइरहेको छ। सो पुलको ५५ प्रतिशत काम सकिइसकेको छ' उनले भने।
 
कालीगण्डकीको दोभान नजीकै रहेकाले सामान उपलब्ध भएका खण्डमा वर्षा नलाग्दै ढलान गर्ने तयारी छ। सो पुलको २५ मिटर लम्बाइ र साढे सात मिटर गाडी गुड्ने भागसहित ११ मिटरको चौडाइ छ। 

 बन्दाबन्दी भएपछि निर्माणाधीन कार्य बीचमै रोकिन पुगेकामा वर्षायाम नजिकिएकाले खोलाका निर्माणाधीन पुलका काम सुस्तसुस्त शुरु गरिएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सब इन्जिनियर शिव सुवेदीले बताए। 'गैँडाकोटदेखि पीपलडाँडा सडक खण्डअन्तर्गत १३० किमी सडक कालोपत्रे बनाउने योजनाका लागि पहिलो चरणको काम भइरहेको छ' उनले भने।
 

प्रकाशित मिति: : 2020-05-19 14:44:49

प्रतिकृया दिनुहोस्