थाइल्याण्डका नेपालीभाषी युवा समाजसेवी युवलाल भन्छन्- दुःखलाई संघर्षका रूपमा बुझौं

पुष्पा दुलाल

(थाइल्यान्ड)

थाइल्याण्डमा लामो समयदेखि संघर्ष गर्दै समाजसेवी बनेका नेपाली भाषी युवाले दुःखलाई नजिकबाट नियालेका छन्।

सन् १९६७ वैशाखमा म्यान्मारको सेगू कचिन राज्यमा पिता हरिलाल र माता पूणवति गौतमको कोखबाट जन्मिएका उनको बाल्यकाल सामान्य रूपमा बित्यो।

साधारण किसान परिवारमा जन्मिएका युवलाल गौतमले विद्यालय तहको पढाई सेगूको एक स्थानीय विद्यालयबाट पुरा गरे।

उनी बाल्यकालदेखिनै अरूलाई सहयोग गर्न रूचाउने प्रवृत्तिका थिए। उनका साथीहरूका अनुसार बच्पनदेखिनै उनमा समाजसेवाको भावना थियो।

सन् १९९१ को अप्रिलमा युवलाल थाइल्यान्ड प्रवेश गरे।  थाइल्याण्डमा पनि कहाँ भनेजस्तो काम पाइन्थ्यो र। जन्मभूमी म्यान्मार छोडेर कर्मभूमी थाइल्यान्ड पुगेको २७ दिनपछि युवलालले फर्निचर कम्पनीमा काम गर्ने अवसर पाए।

‘बल्ल बल्ल पाएको काम पनि कहाँ सजिलो थियो र?’, विगत सम्झाउँदै उनले भने, ‘त्यो बेला फर्निचरमा काम गर्न पटक्कै सजिलो थिएन। कहिल्यै नगरेको काममा दैनिक खटिनु पर्दा दुःख नै दुःख पाएँ।’

फर्निचरको कामबाट वाक्क भएका युवलालको एक महिनामै काम छोडे। त्यसपछि भेटिएको एक नेपाली दाइले उनलाई अर्को काम लगाइदिए।

‘त्यो बेला पनि काममा एक्लै हुन्थेँ, छुट्टिमा जाने ठाउँ धेरै भए पनि आफू कही जान पाउँदिन थिएँ, न त साथी नै हुन्थे। फेरि हातमा राहदानी थिएन’, उनले भने, ‘आफूसँग राहदानी नहुँदा प्रहरीको फन्दामासमेत परेँ।’

परिवारको जीवनस्तर उकास्न र आफ्नो भविश्य बनाउन जन्मभूमी छोडेर थाइल्याण्ड पुगेका युवलालले पाउनुसम्मको दुःख पाए।

कर्मभूमि थाइल्यान्डमा अनेकन दुःख भोगेका युवलालको मनमा कुनै दिन आफू पनि पुर्खाको भूमि नेपाल पुग्ने इच्छा पालेका थिए। संयोग नै भन्नुपर्छ सन् १९९४ मा उनी नेपाल घुम्न जाने निर्णयमा पुगे। त्यो बेला उनले नेपालमा धेरै ठाउँमा घुमे। ‘साच्चीकै नेपाल अत्यान्त सुन्दर देश हो। यहाँका असिमित प्राकृतिक संरचना र मठ मन्दिरले नेपाललाई सुन्दर रहिरहन अभिप्रेरित गरेको छ’, केही समय नेपाल बसेका उनले भने।

केही दिन नेपाल घुमेपछि उनी पुन थाइल्याण्ड फर्किए।

नेपालबाट फर्केपछि युवलाल कामको खोजीमा फुकेट शहर पुगे। उनले देखेका अनेकन सपनाहरू सोचेजस्तो काम नपाएर त्यतिकै थन्किएका थिए। उनलाई भनेजस्तो काम नपाएको चिन्ता थियो। तीन महिनामा सात ठाउँमा काम फेरिका उनले आफूले त्यो बेला धेरै हण्डर खाएको स्मरण गरे।

थाइल्यान्डको संघर्षशील जीवनबाट निरास भएर जन्मभूमी म्यान्मार फर्कने उनले निधो गरिसकेका थिए।

‘बरू अब म्यान्मार नै फर्किन्छु भनेको थिएँ, तर मन भने फिटिक्कै मानेको थिएन’, जीवनसँग हार मानेका दिनहरू सम्झदै युवलालले भने, ‘लगभग म म्यान्मार जाने सोच्दै थिएँ। त्यसै बेला एउटा पञ्जाबी साथीले कसामोईमा काम भएको बताउँदै काम गर्न आग्रह गरे। समुद्र किनारमा चिन्तित अवस्थामा रहेको मलाई पनि खाली हात घर फर्कन पटक्कै मन थिएन र पुनः कामकै लाग्ने निधो गरें।’

त्यसपछि म्यान्मार जाने निर्णय परिवर्तन गेर काम गर्न थाले। उनले काम गर्ने ठाउँमा थप २२ जना नेपालीसमेत थिए। अरु ठाउँभन्दा त्यहाँ काम गर्न सहज थियो। पैसा पनि राम्रै कमाउन थाले।

केहि समय जागिर खाएपछि उनले एउटा सामान्य रेष्टुरेन्ट खोलेर चलाउने निर्णय गरे। थाइल्यान्डमा खाएका अनेकौ हण्डर र दुःख, कष्टपछि थालेको सामान्य ब्यापार व्यवसायबाट उनी औधि खुसी भए।

रेष्टुरेन्ट राम्रै चल्न थाल्यो। थोर बहुत पैसा कमाउन थाले। बचेको समय समाजसेवामा दिन थाले। ‘छुट्टिको समय मिलाएर नेपाली साथीसँग भेटघाट गर्ने, सरसल्लाह गर्ने र सामाजिक काम गर्‍यौं’, उनले भने, आफूले परदेशमा  दुःखलाई नजिकबाट देखेको भएर मैले पनि थाइल्यान्डमा दुःख पाएका धेरैलाई आर्थिक सयोग समेत गरेँ।’

उनले साथीसँग मिलेर सन् १९९५ मा पहिलो पटक थाइल्याण्डमा शिवरात्री पर्व भब्य रूपमा बनाएका थिए। युवलालकै नेतृत्वमा परदेशमा नेपाली कला र संस्कृतिको जर्गेना गर्ने, रिति रिवाज, चाडपर्व, संस्कार, परम्पराहरु मिलेर मनाउने कामको समेत थालनी भयो।

उनले पहिलो पटक सन् १९९७ मा हाते लेखकमा पात्रोसमेत तयार पारे।

त्यतिमात्र होइन, थाइल्यान्डमा काम नपाएकार अलपत्र परेकालाई काममा लगाइदिने, विरामीलाई अस्पतालसम्म  पुर्‍याउनेलगायतका समाजिक कार्यमासमेत उत्तिकै  सक्रिय थिए।

‘सेवा नै धर्म हो’ भन्ने भनाईलाई मूल मन्त्र लिएर हिँडेर उनले अरूलाई सहयोग र सेवा गर्न पाउँदा मनै आनन्द हुने बताए।

सन् २००२ मा उनले नेपाली साथीभाइसँग मिलेर सन् स्यमुमा मन्दिर बनाउन जग्गा किन्ने पहल गरे। सन् २००३ मा बनेको मन्दिर बनाउन उनले महत्वपूर्ण भूमिका निभाए।

उनकै पहल र सक्रियतामा थाइल्याण्डमा श्री अखण्ड ज्योतिर्मय शिव धाम कसमवी मन्दिर स्थापना भएको थियो।

सन् २०१५ मा नेपालमा गएको महाभूकम्पमा पनि घरबार बहिन भएकालाई थाई मुलनिथि सहयोग मण्डलको नेतृत्व गर्दै राहत लिएर नेपालसम्म पुगे।

त्यहाँ उनले कयौंलाई सहयोग गर्नुका साथै राहत दिएर पुर्खाको भूमिका लागेको चोटलाई मल्हम लगाए।

यसअघि सन् २०१३ मा थाइल्यान्डमा आएको बाढीबाट पीडितलाई सहयोग गरे। त्यो समयमा युवलालले साथीसँग मिलेर दिनरात नभनि करिब २ महिनासम्म राहत लिएर गाउँ–गाउँमा खटिए।

२०१९ को अन्त्यतिर चीनको वुहानबाट विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले अहिले संसार त्रासमा छ। लाखौं मानिसको ज्यान गइसकेको छ। पचासौं लाखभन्दा बढी मानिस प्रत्यक्ष संक्रमित भएका छन्। करोडौं मानिस बेरोजगार भएका छन्।

यस्तो विसम परिस्थितिमा पनि उनले आफ्नो टिमबाट राहत लिएर अलपत्र परेका मानिसको उद्धारमा जुटिरहेका छन्।

युवलालले आफ्नो जीवन भोगाइका क्रममा पाएको दुःखलाई नै संघर्षका रूपमा बुझेका छन्। मानव जीवनमा सेवा नै ठूलो धर्म भएको उनको विश्वास छ।

आगामी दिनहरुमा पनि समाज र जातिका लागि नै सेवामूलक काम गर्ने युवलालको अठोट छ।

प्रकाशित मिति: : 2020-05-18 12:24:40

प्रतिकृया दिनुहोस्