भनिन्छ, “मान्छेका घोक्रो फोरेर तातो रगत तन्तनी पिउने नर पिशाचहरु पनि हाँस्नुपर्दा मुख छोपेर हाँस्छन् । रगत कट्टिएका दाँतहरु मान्छेले देख्लान् कि भन्नेसंकोच तिनीहरुमा पनि हुन्छ । नकच्चराहरु अर्थात् अझ मापाका नरपिशाचहरु भने वीभत्स काम गर्दा पनि संङ्कोच मान्दैनन् । शब्दान्तरमा भन्नुपर्दा नकच्चराहरु लाज मान्दैनन् । कथित उत्कृष्ट लग्न र क्षेत्रमा जन्मेहुर्केका स्वघोषित उत्कृष्टहरु नकच्चराबीच पनि एक नम्बरकै नकच्चरा हुन सक्छन् । ‘सुपर’ हुन सक्छन् । यस्ता नकच्चराहरु यस नरलोकमा रगत् कटकटिएका दाँत देखाएरै हाँस्न पनि सक्छन् ! खित्का छोडर हाँस्न पनि सक्छन् । हाँसेका हुन्छन् ।”
सत्तासीनहरुले आँप चुसेभैmँ चुसेर आम जनतालाई कोया बनाइएको मुलुकमा कोरोना महामारीले पनि भष्मासुर बनेर तिनै गरीब जनतालाई बढी लखेटेको छ । मुलुकभरीका श्रमजीवी नेपाली यस लखेटोमा छन् । विशेष गररे ती श्रमजीवी नेपालीहरु जो आफ्नो मुलुकमा जीविका धान्नेसम्मको पनि रोजगारी नपाएर रोजगारीका लागि थोरै भएका सुर्कासमेत् बिचौलियालाई सुम्पेर मुटूमा गाँठो पार्दै विभिन्न मुलुकमा रगत पसिना पोख्न पुगेका छन् तिनीहरु नै कोरोनाको डढेलोमा पनि बढी नै पिल्सिएका छन् । रेमिट्यान्सभोजी यहाँका ‘कम्युनिष्ट’सत्तासीनहरु आज ती विपन्न नेपालीहरुको हाहाकारमय गुहार सुनिरहेका छैनन् । आफ्नो मुलुकमा फर्कन खोज्दा बाटो दिइरहेका छैनन् । बरु विभिन्न वहाना बुनेर बाटो छेकिरहेकाछन् ।