बाँकेको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु

बाँकेको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु भएको छ। नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको हो।

उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। गएराती तीन बजे वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएका उनको ६ बजेर ४० मिनेटमा मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँले बताए।

हिजोमात्रै ती युवासहित २ सय ६३ जनाको स्वाव लिइएको थियो। त्यसको रिपोर्ट आइसकेको छैन।

भारतबाट आएका आठ जनामा यसअघि नै कोरोना देखिएपछि नरैनापुरमा सावधानी अपनाइएको छ। संक्रमितको सम्पर्कमा रहेका भनिएका करिव तीन सय मध्येमा २ सय ६३ जनाको शनिबार स्वाव लिइएको थियो। अझै ठूलो संख्या मानिसको स्वाव लिन बाँकी रहेको छ।

पछिल्ला दिनमा भारतबाट बाँके फर्किनेमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका रहेका छन्। त्यहाँ ११ वटा क्वारेन्टाइनमा ६ सय २६ जना बसेका छन्।

मृतक युवाको शव अहिले पनि क्वारेन्टाइनमै रहेको छ। नरैनापुरका स्वास्थ्य शाखाका प्रमुख खाँले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल गर्न नेपालगञ्ज आउदै गरेको जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-05-17 09:28:22

प्रतिकृया दिनुहोस्