ठोरीमा मानिस रोक्न होइन, जनावरका लागि काँडेतार : गापा अध्यक्ष श्रेष्ठ (भिडियाे)

पर्साको ठोरी गाउँपालिका अध्यक्ष पद्मबहादुर श्रेष्ठले ठोरी गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा लगाइएको तारेकाँड तीन वर्षदेखि लगाइदै आएको बताएका छन्।

उनले नेपाल–भारत सीमा क्षेत्रमा नागरिकको आवतजावत रोक्न तारेकाँड नगलगाएको स्पष्ट पारे। ‘आज आएर काँडेतार लगाइएको होइन, तीन वर्ष पहिलेदेखि भारतबाट पस्ने जनावर रोक्न वडा नं ३ काे करिब ५ किलोमिटर क्षेत्रमा काँडेतार लगाइएको हो,’ उनले भने।

धेरै पहिलेको फोटो फेसबुकबाट निकालेर राष्ट्रिय राजधानी दैनिकमा काठमाडौंका एक पत्रकारले समाचार बनाएपछि अहिले नेपाल–भारत सीमा क्षेत्रमा नेपालीले काँडेतार लगाउन थालेको चर्चा सुरु भएको हो।

ठोरी–भिखना ठोरी नाका खुल्ला छ, दुबै देशले गस्ती गरिरहेका छन्। सीमा नाकामा कही पनि काँडेतार लगाइएको होइन, जंगल क्षेत्रमा लगाइएको हो। ‘धेरै पहिलेको फोटोलाई प्रयोग गरी समाचार उल्लेख गरिएको छ तर नेपाल भारत सीमाको दशगजामा तारेकाँड लगाइएको होइन्, भारतबाट वन्यजन्तु नेपाल पसेर बाली नष्ट नगरुन् भनेर काँडेतार लगाइएको हो,’ गाउँपालिकाका अध्यक्ष श्रेष्ठको भनाई छ।

वडा नं ३ का वडा अध्यक्ष सूर्य लामाले ठूटेखोला नजिकै रहेको ४३५–१ देखि ४३१–४ नम्बरको पिलरसम्म काँडेतार लगाउने काम भएको दावी गरेका छन्। तर उनले आवतजावत रोक्न नभई वडाको किसानको बाली संरक्षणका लागि दशगजाभन्दा उत्तरकै क्षेत्रमा काँडेतार लगाएकाे बताए। 

२०७४ मंसिरबाटै सीमा क्षेत्रमा काँडेतार लगाउन सुरु गरिएको उनकाे भनाई छ। भारतले नेपाली भूभाग अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि दुई देशको सीमा विवाद फेरि चर्किको छ। नेपाली भूमि अतिक्रमणको विरोधमा लकडाउनकै अवधिमा पनि सडक प्रदर्शन भए, संसदमा आवाज उठिरहेको छ।

प्रकाशित मिति: : 2020-05-16 13:00:00

प्रतिकृया दिनुहोस्