आज मदन–आश्रित स्मृति दिवस, जननेता भण्डारीले स‌ंसद्मा गरेकाे सम्बाेधन (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज शनिबार विविध कार्यक्रम गरी मनाइँदैछ।

भण्डारी र आश्रितको निधन भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ।

२०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो। यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन।

दुर्घटनाका साक्षी रहेका जीप चालक अमर लामाको २०६० सालमा माओवादीले गोली हानी कीर्तिपुरमा हत्या गरेपछि यो घटना थप रहस्यमय भएको छ ।   

नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले मदन भण्डारीले अघि सारेकाे जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउँदै आएका छन्।

उनीहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्दर्भिक रहेको बताउँदै उनीजस्तो नेता देशलाई खाँचो भएको औंल्याउँदै आएका छन्। 

जननेता भण्डारी कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिष्ट आन्दोलनमा लागेका थिए।

उनी तत्कालीन नेकपा मालेको केन्द्रीय पोलिटब्युरो सदस्य हुँदै २०४६ साल भदौदेखि साविक नेकपा माले पार्टीको महासचिव बनेका थिए। ०४९ माघमा काठमाडौंमा भएकाे एमालेकाे पाँचौँ महाधिवेशनबाट महासचिवमा पुन: निर्वाचित भएका थिए ।

विश्वभर कम्युनिष्ट शासन पतन भइरहेका बेला ९० को दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि भण्डारी विश्वभर चर्चाको शिखरमा पुगेका थिए। 

०४७ सालमा कम्युनिष्ट शासनकाे अन्त्यसँगै सोभियत संध विघटन भयाे । त्यसपछि संसारभरि  डुब्न लागेको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल भएका थिए जननेता भण्डारी ।

कांग्रेस सभापतिसमेत रहेका शन्तनेता कृष्णप्रसाद भट्टराईलाई ०४८ सालकाे चुनावमा काठमाडौंबाट हराएर भण्डारी विजयी भएपछि अमेरिकी पत्रिका 'न्युयाेर्क टाइम्स' ले 'कार्ल मार्क्स नेपालमा अझै जीवित छन्' भनेर लेखेको थियो। भण्डारीकाे चर्चा संसारभरि भएकाे थियाे ।

 

प्रकाशित मिति: : 2020-05-16 07:02:52

प्रतिकृया दिनुहोस्