छाङ्गरु र तिङ्करमा सशस्त्रसँगै नेपाल प्रहरीको टोली पनि पुग्यो

सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि शुक्रबार व्यासको छाङ्गरु र तिङ्कर चौकी गएका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रहरीका दुवै चौकीका प्रहरी जवान ती स्थानमा गएका हुन्। प्रहरीका प्रहरी नायब निरीक्षक हर्कसिंह महताको नेतृत्वमा नौ जनाको टोली तिङ्करको छियालेक र प्रहरी सहायक निरीक्षक देवदत्त भट्ट नेतृृत्वमा सीतापुलमा नौ जनाको टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

व्यासको छाङ्गरुको सीतापुल र तिङ्करको छियालेकमा बस्दै आएका प्रहरी गत मङ्सिर महिनामा चिसो छल्न व्यास गाउँपालिका वडा नं २ को दुम्लिङ झरेको थियो। दुवै चौकीका प्रहरी सम्बन्धित चौकीमा पुगेका छन्। व्यासको चीन ताक्लाकोट नजिकै रहेको छियालेक प्रहरी चौकी विसं २०२४ र छाङ्गरुको सीतापुल प्रहरी चौकी विसं २०२७ मा स्थापना भएका हुन्।

अहिले दुवै प्रहरी चौकीका भवन जीर्ण अवस्थामा छन्। जीर्ण भवनमा त्रिपाल राखेर बास बस्नुपर्ने बाध्यता रहेको जनाइएको छ।

सो गाउँपालिका वडा नं १ का दुई गाउँ छाङ्गरु र तिङ्करमा विगत लामो समयदेखि प्रहरीको मात्र छ महिना उपस्थिति हुँदै आएको छ। हालसम्म उनीहरुका लागि पक्की भवन निर्माण हुनसकेको छैन। भवन नहुँदा गत वर्षदेखि प्रहरीले त्रिपालको भरमा बस्तीको संरक्षणमा खटिएका थिए।

प्रकाशित मिति: : 2020-05-15 13:37:04

प्रतिकृया दिनुहोस्