गृहले सच्चायाे गल्ती, पूर्वराजारानीलाई काठमाडाैं आउन दियाे सवारी पास

गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि सवारी पास उपलब्ध गराएको छ।

पूर्वराजा शाहले शुक्रबार काठमाडौं जाने तयारी गरेका थिए । उनलाई  झापाका जिल्ला प्रशासनले पास दिएका थिए। तर सवारी पास जारी गरिएको केही घण्टामै गृह मन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले उक्त पास रद्ध गरेका थिए।  त्यसपछि सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्काे विरोधका साथ सरकारको आलोचना गरेका थिए । फलत: गृहले आफ्नो कमजोरी सच्चाएको छ। 

बिहीबार अवेर राति नै फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको थियो। यद्यपी गृहका एक अधिकारीले बिएल नेपाली सेवासँग कुरा गर्दै  समन्वयनमा पास जारी गर्न सकिने कुरा बिहीबार साँझ नै बताएका थिए।

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौं प्रस्थान गरेका छन्।

पूर्वराजा शाह लकडाउन सुरु हुनुभन्दा केही दिनअघि झापा आएका थिए। उनी पूर्वराजपरिवारको स्वामित्वमा रहेको दमकस्थित हिमालय–महालक्षी चियाबगानभित्रको दरबारमा थिए। उनीसहित पत्नी कोमल पनि झापामै थिइन्।  

उनी गत माघमा पनि झापा आएका थिए। एक महिनाभन्दा बढी बसेर काठमाडौं गएका उनी चैत पहिलो साता पुनः झापा आएका हुन्। पूर्वराजा शाह प्रत्येक वर्ष जाडो छल्न झापा आउने गरेका छन्।

किन गृहले गर्‍यो पास रद्द

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनलाई कडाइ गरिरहेको छ। गृह मन्त्रालयल‍े सोमबार निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ। बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।

तर एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सकरनर्सरफर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादनरढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ।

यस्ता सवारी साधन प्रयोगकर्तासँग अनिवार्य सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा हुनुपर्नेछ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले गृह मन्त्रालयसँग सहकार्य नभई पास जारी भएका कारण रद्द गर्नुपरेको बताए।

‘अहिले पास जारी नगर्ने, भएका पनि रद्द गर्ने भन्ने निर्देशन दिनुभएको थियो। गृह मन्त्रालयसँग सहकार्य नभई यो पास जारी भएको थियो,’ उनले भने, ‘त्यसकारण पास रद्द भयो।’ 
 

प्रकाशित मिति: : 2020-05-15 09:00:47

प्रतिकृया दिनुहोस्