कालिकोटको पलाँतामा विवाद चर्किदै, घटनाले नयाँ मोड लियो (भिडियो)

कालिकोटको पलाँता गाउँपालिका भएको विवाद थप चुलिँदै गएको छ।

गत वैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, २ नम्बर वडाका अध्यक्ष मानबहादुर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका कमिटी अध्यक्ष बिष्णु रोकाया बीच कुटाकुट भएको घटनाले नयाँ रूप लिएको हो।

पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बम, वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्ष रोकाया पक्ष बीच झडप भएको थियो। झडपमा परि गाउँपालिका अध्यक्ष बमकी श्रीमति गोरीकला बम लगाएतका घाइते भएका थिए।

श्रीमति घाइते भएपछि गाउँपालिका अध्यक्ष बमले वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्ष रोकाया बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा मुद्दा दायर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कालिकोटले वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्ष रोकायालाई बुधबार पक्राउ गरेपछि अहिले वडा अध्यक्ष भण्डारी र रोकाया पक्षले गाउँपालिकामा तालाबन्दी गर्दै आएका छन्।

हाल स्थानीयले गाउँपालिका अध्यक्ष लक्ष्मण बमका विरुद्धमा चर्को नाराबाजी गरेका छन्। आक्रमण गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पलाता गाउँपालिका कमिटी अध्यक्ष इन्द्र रोकाया र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारीका समर्थकहरुले भ्रष्टचारी नेता चाँहिदैन, गाउँपालिको खाता बन्द गर, नेताहरु थुन्न पाईंदैन, पलाँता रेडियो खारेज गर, झुट्टा मुद्दा खारेज गर, जस्ता नारा लगाएका छन्।

कालो झण्डासहित अध्यक्ष बमका विरुद्धमा उत्रेका स्थानीयले १० महिनादेखि शिक्षक कर्मचारीलाई तलब नपाएको, अग्नि पीडितलगायतका लागि आएको पैसा हिनामिना भएको आरोप लगाएका छन्। आन्दोलनमा उत्रेका स्थानीयहरुले गापाका सबै वडा कार्यालयमा ताला लगाउने अभियान चलाएका छन्।

बुधबार पक्राउ परेका वडा अध्यक्ष र पार्टी अध्यक्ष रिहा नगरेसम्म ताला नखोलिने उनीहरुले बताएका छन्। गाउँपालिकाको वडा नम्बर १ र २ नम्बरमा तालाबन्दी गरिसकेको नेकपाका स्थानीय नेता मनप्रसाद न्यौपानेले बताए। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पक्षधरहरुले वडा अध्यक्ष भण्डारी र नेकपा गाउँपालिका अध्यक्ष रोकायालाई कारवाहीको माग गर्दै दुई दिन अघि पलाँता गाउँपालिकाको  थिर्पु प्रहरी चौकीमा दुई दिन देखि प्रवर्द्धन गर्दै आएका छन्।

वडा अध्यक्ष भण्डारी र नेकपा गाउँपालिका अध्यक्ष रोकायालाई कारवाहीको माग गर्दै दुई दिनदेखि प्रहरी चौकीमा प्रदर्शन भइरहेको स्थानीय पूर्णबहादुर बमले बताए।

प्रकाशित मिति: : 2020-05-14 16:31:39

प्रतिकृया दिनुहोस्