राजुबाबु श्रेष्ठ
अचानक उनको जीवनको आकाशमा कालो बादल लाग्यो। अनगिन्ति चट्याङहरु परे। घनघोर अन्धकार छायो। महिना दिन अघिसम्म आफूलाई संसारकै सुखी ठान्ने उनको विचार एकाएक भत्कियो। चौबिसै घन्टा अकासका ताराहरु जस्तै चमचम चम्किरहने उनको न्युयोर्क सहर डरलाग्दो एकान्तमा बदलियो।
आज न्युयोर्क सहरबाट एकाएक जीवन हराएको छ। केवल मृत्युका त्रासदीयुक्त साइरन बजाउदै घुमिरहेका छन् निरिह एम्बुलेन्सहरु। हरेक बिहान सखारै मृत्युका समाचार फुक्छन् रेडियो र टेलिभिजनहरु। उनलाई अब रेडियो र टेलिभिजनसँग पनि डर लाग्न थालेको छ।
न्योयोर्कका हरेक पोल, पेटीहरुमा, सडकका रेलिङहरुमा जताततै कोरोना भाइरसहरु बग्रेल्ति नाँचिरहेको भान हुन्छ। सपिङ मलका भित्ता-भित्तामा, सामानका प्रत्येक बट्टाहरुमा तिनै भाइरस खेलिरहेको प्रतित हुन्छ। कोरोनाले सहरको खुशी खोसेको छ। उज्यालो खोसेको छ। मान्छेहरु कतै हराएका छन्। सबैभन्दा बढी मानवता हराएको छ।