नाकाबन्दी भोगेका पूर्व राजदूतको सुझाव : भारतसँग आँखामा आँखा मिलाउन चुक्नु हुँदैन [विशेष कुराकानी]

लोकान्तर

काठमाडौं

नेपाली भूमि लिपुलेक हुँदै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपाल–भारतबीच नयाँ खालको सीमा विवाद पैदा भएको छ । ६ महिना अघिदेखि नै बाटो बनिरहेको थाहा पाउँदा पनि नेपाल सरकार सुतिरहेको भन्दै राजधानी काठमाडौं लगायतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् ।

नेपाली भूमिमा भारतले धेरै पहिलादेखि नै हस्तक्षेपको क्रम जारी राखेको र त्यसलाई कूटनीतिक रूपमा समाधान गर्न नेपाल सरकार असफल भएको टिप्पणी पनि हुँदै आएको छ । नेपालले भारतसँग सीमा लगायतका अन्य विवादहरू समाधान गर्न अब कस्तो कदम चाल्नुपर्ला ? लोकान्तरकर्मी ईश्वर अर्यालले भारतका लागि नेपाली पूर्व राजदूत दीपकुमार उपाध्यायसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश –

‘सीमा समस्या समाधानका निम्ति अहिलेको अवस्था सौभाग्य र दुर्भाग्य दुवै हो’

लिपुलेक लगायतका सीमामा भारतले खडा गरेका समस्याबारे धेरै स्टोरीहरू आइसके । अझैसम्म पनि मेरो दोष छैन भन्ने, पन्छने, सतही कुरा गर्ने खालको समस्या हामीमा देखिएको छ । 

यो नेपालको सौभाग्य पनि हो, दुर्भाग्य पनि हो । सौभाग्य यो मानेमा हो कि कुनै पनि नेता यसपटक जोगिन सक्दैन । मेरो जिम्मेवारी छैन, मलाई थाहा छैन भनेर अब चाहिँ जोगिन सक्दैन । विभिन्न कालखण्डमा अहिलेका नेताहरू सके प्रधानमन्त्री नै भए, नभए उपप्रधानमन्त्री भए, परराष्ट्र वा गृहमन्त्री भएका छन् । महत्त्वपूर्ण जिम्मेवारीमा थिए र छन् ।

दुर्भाग्य के भने – नेपालमा सधैं अस्थिरता रह्यो । सधैं संक्रमण, सधैं फेरबदल भइरह्यो । विवाद हल गर्नेसम्बधी कुनै पनि कुरामा प्राथमिकता, निरन्तरता देखिएन । सीमा विवादका जतिसुकै जटिल विषय भएपनि कहिल्यै पनि यसलाई हामीले प्राथमिकतामा राख्न सकेनौं ।

‘भारतमा मोदी आएपछि प्रशासनिक सम्बन्धले राजनीतिक उचाइ लियो’

मोदीजी आउनुभन्दा पहिला त भारतले नेपाललाई वास्तै गरेको थिएन । प्रशासनिक तहबाट ह्यान्डल गर्ने गर्थ्यो । मोदीको ‘छिमेकी पहिलो’ नीतिअनुसार नेपालप्रतिको यो अन्याय हो, राजनीतिक तहमै सम्पर्क समन्वय गर्नुपर्छ भनेर नेपाल आए । मोदीले नेपाललाई राजनीतिक तहमै सँगै लिएर जान खोजेका थिए । 

हामीले त्यसलाई पनि ‘रियलाइज’ गर्न सकेनौं । म दुईपटक राजदूत भएर गएँ, ६ महिनाको अन्तरालमा । अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिको विद्यार्थी नहुँदा–नहुँदै पनि राजनीतिक सम्बन्धको पुनःस्थापना गर्नुपर्छ भन्ने मेरो दृष्टिकोण थियो । 

नेपाललाई प्रशासनिक कोणबाट भारतले हेर्ने समयमा पार्टीहरू तोड्ने फोड्ने, अस्थिरता फैल्याउने खालका धेरै कामहरू भए । नेपाललाई अस्थिर राख्ने, धेरै पीडा दिनेखालको स्थिति भयो । यसपटक मुक्ति दिनुपर्‍यो भनेर अभियानमै म राजदूत भएर गएको हो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री शुशील कोइरालाको विशेष आग्रहमा म मन नहुँदा–नहुँदै पनि राजदूत भएर गएँ । 

उहाँहरूले तपाईंले सक्नुहुन्छ भनेर पठाउनुभयो, मैले पनि जे त पर्ला भनेर गएँ । पहिलोपटक भूकम्प जाँदा र अर्कोपटक नाकाबन्दी झेल्नुपर्‍यो । त्यतिबेला पनि गाह्रो दिनहरू थिए, अहिले पनि गाह्रो दिन छ ।

अहिले धेरै नेपालीहरू देश फर्किन चाहन्छन्, उनीहरूको व्यवस्थापन गर्नुपर्ने छ । उनीहरूको दुःखसुख हेर्नुपर्ने छ । यी सबैलाई कूटनीतिक तरिकाले व्यहोर्नुपर्ने छ । स्थिति यस्तै छ । 

प्रकाशित मिति: : 2020-05-13 08:23:05

प्रतिकृया दिनुहोस्