रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्तामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रवक्ता दिमित्री पेस्कोभमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। पेस्कोभले पुटिनलाई एक महिनाअघि भेटेका थिए। पुटिन हाल आफ्नो घरबाट काम गरिरहेको र उनको स्वास्थ्य सुरक्षित राखिएको क्रेम्लिनले जनाएको छ।
यसअघि प्रधानमन्त्री मिखायल मिसुस्तिन पनि संक्रमित बनेका थिए। त्यस्तै, संस्कृति मन्त्री ओल्गा ल्युमिमोभा, भौतिक निर्माणमन्त्री भ्लादिमिर याकुसेभ पनि संक्रमित भइसकेका छन्।
रुस विश्वमै दोस्रो धेरै कोरोना भाइरस संक्रमित रहेको देश बनेको छ। रुसमा हालसम्म २ लाख ३२ हजार संक्रमित फेला परेका छन्।
पछिल्लो २४ घण्टामा देशमा १० हजार ८९९ नयाँ संक्रमित फेला परेका छन्। रुसमा एक दिनमा १० हजारभन्दा बढी संक्रमित फेला परेको यो लगातार दशौँ दिन हो।
सरकारी अधिकारीहरुका अनुसार ठूलो संख्या गरिएको परीक्षण कार्यक्रमका कारण मृत्युदर कम रहेको हो।