नेपालीलाई घर फर्किने व्यवस्था मिलाउन उत्तर प्रदेशका मुख्यमन्त्रीको निर्देशन

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटर मंगलबार उक ट्विट गर्दै  उनले नेपाल नफर्की भारतमा नै बस्न चाहने नेपालीको लागि पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन्।

भारतमा मजदुरहरुलाई रेलबाट आफ्नो गन्तव्यमा पुर्‍याउने काम शुरु भएसँगै उत्तर प्रदेशका मुख्यमन्त्रीले उत्तर प्रदेशमा रहेका नेपालीलाई पनि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

भारतमा धेरै स्थानमा रहेका मानिसहरु उत्तर प्रदेश हुँदै नेपाल आउने गरेका छन्।

अहिले लकडाउनका कारण काम, पढाइ तथा अन्य सिलसिलामा उत्तर प्रदेश पुगेका धेरै नेपालीहरु रोकिएका छन्।

यता गोवामा रहेका विदेशी कामदारहरूलाई फिर्ता पठाउने तयारी थालेको छ। त्यहाँ रहेका नेपाली कामदारहरूलाई पनि फर्काउने तयारी भइरहेको मुख्यमन्त्री प्रमोद सावन्तले जनाएका छन्।

मुख्यमन्त्री सावन्तले स्वदेश फर्कन चाहने नेपालीहरुलाई दिल्लीस्थित नेपाली दूतवासमा नाम दर्ता गर्न आग्रह गरिसकेका छन्। भारतको केन्द्र सरकारले यसअघि नै कुनै देशले आफ्ना नागरिक फिर्ता लिन चाहे आफूले सहयोग गर्ने बताइसकेको छ।

पछिल्लो समय भारतका विभिन्न सहरबाट रेलमा आप्रवासी कामदारलाई फर्काउने क्रम चलिरहेको छ। भारतबाट नेपाली कामदार फिर्ता ल्याउनेबारे अन्तिम निर्णय भने नेपाल सरकारले गर्नुपर्छ।

सरकारले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन।

याे पनि
 
प्रकाशित मिति: : 2020-05-12 18:16:19

प्रतिकृया दिनुहोस्