नर्सिङ दिवस विशेष
अहिले केटाहरु पढ्न पाउँछन्। पहिले पनि केटाहरु पढ्न पाउँथे। बिचको केही समय केटीहरु मात्र पढ्न पाउने भएपछि हाम्रो दिमागमा नर्स भन्ने वित्तिकै छोरी मान्छेको चित्र बन्छ। त्यसमाथि आइडलको रूपमा फ्लोरेन्स नाइटिङ्गेललाई मानिने भएकाले नर्सको चित्र आम मान्छेको मनमा केटीकै बन्छ।
एउटी केटी मान्छे लालटिन लिएर रातिराति बिरामीको बेड चाहर्दै गरेकी, कपाल गुजुक्क पारेर जालिले ढाकेकी, अस्पताल वा स्वास्थ्य चौकीको भित्तामा दुईटा ओठको बीचमा चोर औंला ठाडो पारेर कसैलाई चुप लाग, शान्त होऊ भनिरहेकी केटी मान्छेको चित्र आउँछ।
यही आकृतिका नर्सहरु आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको सेवा गरिरहेका छन्। आधाजसो बिरामी अस्तपताल पुग्नै लाग्दा मनोवैज्ञानिक रुपमा निको भएको महसुश गर्छन्। अस्पतालमा पुगेपछि सेता एप्रोन लगाउनेहरुको व्यवहार र सल्लाह सुझावले पनि निको भएको महसुश गर्छन् भने बाँकी काम औषधिले गर्छ। कतिपयको व्यवहार रूखो हुन्छ। कतिले छोए भने पनि सितल महसुश हुन्छ। बिरामीसँग तुलनात्मक रुपमा नर्सहरुको निकटता बढी हुन्छ। यीनैमध्ये एक हुन्, जुम्ला चन्दननाथकी जानकी हितान।
उनी हाल तीला गाउँपालिकाको स्वास्थ्य शाखाकी सह–संयोजक छिन्। उनी स्वास्थ्य सेवामा रहेको १९ वर्ष हुन लाग्यो। विद्यालय जीवनमै नाइटिङ्गेलको जीवनी पढ्दै गर्दा धेरैको मनमा नर्स बनेर बिरामीको सेवा गर्ने भावना पलाउँछ। उनको मनमा नर्सको बीउ उतिबेलै रोपिएको थियो। त्यसमाथि उनकी दिदी अनिमी पढ्ने विद्यार्थीलाई पढाउँथिन्। उनी जस्तै उमेरका विद्यार्थीलाई प्रयोगात्मक कक्षामा बिरामीको सेवा गर्ने व्यवहार सिकाउदै गरेको देखेपछि सेवाको बीउ अंकुरान थाल्यो। त्यसमाथि सेवा नै धर्म हो भन्ने वाणीले दिमागमा डेरा जमाएकै हुन्छ।
जानकी बाल्यकाल रामाइलो गरी बितेको बताउँछिन्। ‘पारिवारिक पृष्ठभूमि मध्यम वर्गीय हो। मध्यम वर्गीय परिवामा हुर्केको हुनाले पनि खान लाउनको अभाव व्यहोर्नु परेन। बुबा जागिरे हुनुहन्थ्यो। बाल्यकाल रमाइलो भयो,’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘बाल्यकाल सबैको रमाइलो हुन्छ होला। अभावभै भए पनि छोरोछोरीले व्यहोर्नु नपर्ने भएपछि खासै अनुभूति हुँदैन होला जस्तो लाग्छ, साह्रै अभाव हुनेहरु बाहेक। घरमा इच्छाएको सबै पुरा गरिदिने वातावरण थियो। बाल्यकालका सम्झन लायक थुप्रै घटना छन्।’
तर जब उनी पढ्न भनेर दिपायल गइन्। ती दिन भने बहुत कष्टदायी थिए। उनले बिएल नेपाली सेवासँग आफ्ना कुरा राख्नेबेला उनको बाल्यकाल देखि वैवाहिक जीवन सम्मको व्ल्याक एण्ड ह्वाइट रिल घुमाउनु पर्यो।
उनले २०५४ सालमा एस.एल.सी परीक्षा दिएकी थिइन्। रिजल्ट आउनेबेला उनको बिहे भइसकेको थियो। उमेर १८ पुरा भएको थियो। त्यसबेलासम्म सरकारी नीतिमा केटा २० वर्ष र केटी १८ वर्ष पुरा भएपछि बिहे गर्न पाउने थियो। तर यसमा बाबुआमाको स्वीकृति चाहिन्थ्यो। उनले भागेर बिहे गरिन्। माइतीहरुले राम्रो मानेका थिएनन्। उनको बिहे हुनलाई रमाइलो घटनाले रोल खेलेको छ।
उनले बिहे गर्ने बेलासम्म नेपाल मजदुर किसान पार्टी जुम्लामा बलियो थियो। पार्टीले गतिविधि जनतालाई महसुश गर्ने गरी बढाएको थियो। आज पनि धेरै मान्छेहरु त्यतिबेला ‘ढुंगा माटो नै मजदुर किसान पार्टीका थिए’ भनेर सम्झिन्छन्। विशेषत सांस्कृतिक गतिविधिहरू बढी हुन्थे। यस्ता गतिविधिमा पार्टी धेरै अगाडि थियो। रामकृष्ण बुढथापा नेता थिए। उनी साहित्य लेखनमा पनि उत्तिकै पारंगत थिए।
उनले लेखेका दुई नाटक ‘प्रतिज्ञा’ र ‘सपथ’ पश्चिममा निकै चर्चित भए। ‘प्रतिज्ञा’ नाटक किताबमा पनि उपलब्ध छ। जो क्रान्तिप्रति मोह जगाउने खालको थियो भने ‘सपथ’ क्रान्तिको लागि हतियार उठाउन प्रेरित गराउने खालको थियो। यी दुबै नाटकमा उनले अभिनय गरेकी थिइन्। ‘सपथ’ नाटक खेल्दा उनी गाउँगाउँ पुगेकी थिइन्। दैलेख जिल्लासम्म नाटक देखाइएको थियो। नाटकमा उनी प्रेमिको भूमिकामा थिइन् भने प्रेमीको भूमिकामा थिए, अमर शाही। नाटकको दौरानमा उनीहरु नजिक भए। त्यसपछि बिहे भयो। उनले मुस्कुराउँदै आफ्नो विगत सुनाइन्, ‘नाटक खेलेर बिहे गरेका भन्छन् धेरैले’।
बिहे गर्दा घरको आर्थिक अवस्था उती राम्रो थिएन। उनीहरु दुबै केटौले उमेरका थिए। घरको खास ठूलो स्रोत थिएन। जति सक्दो छिटो जागिर पाउने विषय पढ्नुपर्ने अवस्था आइलाग्यो। सोच त नर्स पढ्ने थियो। तर कोर्ष सकिनै तीन वर्ष लाग्ने। त्यसमाथि कमजोर आर्थिक अवस्थाले थिचेको। माइतिसँग सहयोग माग्न उनले सकिनन्। उनलाई लागेको थियो ‘भागेर बिहे गरेको हुँनाले बाबुको चित्त दुखाएकी छु। पढ्छु भनेर सहयोग माग्ने आँट आएन।’ त्यसैले अनमी पढ्ने सोच बन्यो। ढुंगो खोज्दा देउता मिल्यो भनेझैं त्यसबेला एउटा युएनएफपीए भन्ने संस्थाले पढाउने र पढेर आएपछि पाँच वर्ष आफ्नो गाउँको स्वास्थ्य संस्थामा काम गर्नु पर्ने सर्त राख्यो। एक त पढाउने त्यसमाथि जागिर पनि निश्चित भएपछि उक्त संस्थाको कोटामा पढ्न थालिन्। संस्थाले पढाउनलाई दिपायलको सेती प्राविधिक शिक्षालयमा लिएर गयो। सबै व्यवस्था आफैं गर्ने भनेर लिएको संस्थाले महिनाको एक हजार भन्दा बढी नदिने भन्यो।
उनलाई लाग्छ ज्ञान प्राप्तिको सगरमाथा चढ्ने उकालोमा अक्सिजन अभाव त्यहीँबाट सुरु भयो। त्यो एक हजारमा ९ सय पचास खाना खर्च लाग्थ्यो। बाँकी रहने पचास रूपियाँले महिना दिन चलाउनुपथ्र्यो। घरबाट पैसा सम्भव थिएन। दिउँसोको नास्ता थुक निलेपछि पुरा हुथ्यो। बिहान साँझ क्यान्टिनमा खाएकोले काम चल्थ्यो। यताबाट कहिलेकाँही बाबुले चिठीमा पैसा पनि पठाइदिएका हुन्थे। त्यसले प्रयोगात्मक कक्षा लिन र फिल्ड जाँदा खर्च जुट्थ्यो। उनका धेरै साथिका रफ र नोट कापी अलगअलग हुन्थे। उनको रफ र नोट एउटै थियो। भन्छिन्, ‘जिन्दगीमा भोगेको अभाव यही थियो। अभाव नै सँधै अघि बढ्ने प्रेरणाको रुपमा रहिरह्यो।’
जसो तसो पढाइ सकियो। जागिर निश्चित भनेको संस्थाले सुरूमै जिब्रो दुई बनाइसकेको थियो। अभाव घटेको थिएन। त्यही बीच उनले छोरी जन्माइन्। केही समय महिनाको पाँच सय तलबमा बालविकास कार्यकर्ताको रुपमा काम गरिन्। त्यसपछि चार महिना निजी स्कुलमा पढाइन्। माओवादीले निजी स्कुलमाथि धावा बोल्न थालेपछि त्यो जागिर पनि खोसियो। यही बीचमा उनले मासिका र अनमीको कोटामा लोकसेवा आयोगको जाँच दिएकी थिइन्। दुबैमा नाम निस्कियो। सिफारिस कालिकोटमा भयो। त्यबेलासम्म अर्को बच्चा पनि जन्मिसकेको थियो। दुई बच्चा स्याहार्दै उनले जागिर जीवनको यात्रा तय गरिन्।
कालिकोट जिल्लाको परिचय भिरपाखाले दिन्छ। सदरमुकाम पनि भिरको टुप्पोमा भएजस्तो देखिन्छ। कठिन भूगोल भएकाले माओवादीलाई भूमिगत गतिविधि संचालन गर्न सजिलो भयो। एक हिसाबले माओवादीको आधार इलाका जस्तो पनि भयो। मासिका हुँदा उनको पोष्टिङ छाप्रेमा भएको थियो। युद्धको कारण गाउँमा बस्ने अवस्था थिएन। ठिक त्यसैबेला अनमीमा नाम निस्कियो। सोचेजस्ते भयो। कालिकोट सदरमुकाममा काम थालिन्। त्यसको केही समय पछि कालिकोटमा जिल्ला अस्पताल सुरु भयो। नाम जिल्ला अस्पताल भए पनि लामो समय अहेब र अनमीले अस्पताल चल्यो। त्यसैले उनीहरुको भूमिका मुख्य हुन्थ्यो।
यही बीचमा उनले कठिन केसहरु ह्याण्डल गर्नुपर्यो। कालिकोट जिल्ला अस्पतालमा एमएसएफ भन्ने विदेशी प्रोजेक्ट संचालनमा आयो। एक जना विदेशी डाक्टर पनि आएका थिए। उनले धेरै बिरामीको उपचार गरे। जटिल केसहरुमा उनले सहायकको भूमिका निर्वाह गरिन्। डाक्टरको अनुपस्थितिमा आफैले पनि कति केस सम्हाल्नु परेको अनुभव सुनाउँछिन्।
‘एक पटक कोटबाडाकी एक महिला घरमै सुत्केरी भइ छोरो जन्माइन्। पाँच दिनसम्म साल नआएपछि उनी अत्तालिएर अस्पताल आइन्। उनलाई मरिन्छ भन्ने परेछ। जब उनी अस्पताल पुगिन् केसले अर्के मोड लियो,’ उनले भनिन्, ‘हामीले चेक गर्दा उनको पेटमा अर्को बच्चा भए जस्तो लाग्यो। आला लगाउँदा बच्चा चलेजस्तो लाग्यो। त्यसबेला भिडियो एक्सरे आइसकेको थिएन। डाक्टरलाई भन्दा पत्याउनु भएन। तर पछि त बच्चै रहेछ। निकै सावधानी अपनाएर उनलाई सुत्केरी गरायौं। बच्चा स्वस्थ थियो। यति लामो समयको ज्ञापमा जुम्ल्याह बच्चा जन्मिएको यो सायद पहिलो केस हुनुपर्छ। समान्यत आधा देखि एक घण्टासम्म लामो समयमा जुम्ल्याह बच्चा जन्मिन्छन्।’
बिरामी भएपछि अस्पताल आउनुपर्छ भन्ने चेतना निकै कम थियो। अन्त कतै उपाय नलागेपछि मात्र बिरामीहरु अस्पताल आउँथे। उनले फेस गरेको अर्को केस यस्तो छः ‘एक जना क्यान्सरको बिरामी आए। उनको एउटा खुट्टाको बुढी औंला काटेर फाल्नुपर्ने भयो। उनी नमानी घर गए। पछि फेरि आउँदा खुट्टाका सबै औंला काट्नुपर्ने भयो। त्यतिबेला पनि उनलाई मनाउन सकिएन। अर्को पटक उनको अर्को खुट्टामा पनि क्यान्सर सरिसकेछ। एउटा खुट्टा त काम लागेन, अर्को खुट्टाका औंला पनि काट्नुपर्ने भयो।’
उनले चेतना अभाव भएपछि आएको समस्यावाला अर्को केस पनि सुनाइन्, ‘एउटी महिला सुत्केरी हुने थिइन्। उनलाई मेडिकलवालाले काउन्सिलिङ गरिरहेको रहेछ। उनलाई व्याथा नलागेपछि सुई लगाइदिएछ। बच्चा उल्टो रहेछ। पछि बढी बल गरेरै उनको पाठेघर फुट्यो। मेडिकलवालाले गरेको गल्तीको कारण दुबैको ज्यान गयो। नत्र आमालाई सम्म बचाउन सकिने चान्स हुथ्यो।’
जागिरे जीवनमा यस्ता थुप्रै केसहरुसँग मुकाबिला भयो। कति सजिलै थिए, कति कठिन। धेरैलाई डाक्टर, स्वास्थ्य कर्मी भन्दा पनि देउतासँग बढी विस्वास थियो। अन्तिमको विकल्प मात्र अस्पताल हुन्थ्यो। त्यतिन्जेल समय धेरै गुज्रिसकेको हुन्थ्यो। हेर्दाहेर्दै बिरामी मर्थे। एउटा केस त्यस्तै भयो। ‘बच्चा पेटमा मरिसकेको थियो। दुई केस असफल भएपछि डाक्टर त्यस्ता केसहरु ह्याण्डल गर्न डराउनुभयो। शहरका राम्रा अस्पतालमा रिफर अन्तिम विकल्प थियो। त्यसपछि बिरामीहरु समयमै ठाउँमा पुग्न नसकेर मर्थे। उनलाई पनि रिफर गरेको थियो। कालिकोटमा यातायातको भरपर्दो साधन थिएन। त्यो दिन हेलिकप्टर आएन। उनी हेर्दाहेर्दै मरिन्,’ उनले लामो सास तान्दै यो दुःखद केस सुनाइन्।
उनले जागिरकै दौरानमा बेतलबी विदा लिएर धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्स पढिन्। त्यस्तो ठूलो अस्पतालमा समेत नदेखेका जटिल केसहरु उनले कालिकोटमा फेस गर्नु पर्यो। ‘एक पटक बच्चाको हात बाहिर आएको थियो। सिएस गर्ने तयारी गर्दागर्दै बच्चा मर्यो। पछि बच्चालाई टुक्राटुक्रा गरी निकालियो। अन्तिममा टाउको अडियो। केही गरी आएन। सिएस गरेर बच्चा निकालियो। आमाको अवस्था ठिकै थियो। तीन दिनमा हिड्ने भइसकेकी थिइन्। तेस्रो दिनमा अचानक उनको स्वास्थ्यमा गडबडी आयो। उनी मरिन्,’ उनले भनिन्, ‘धेरै केस सफल भए। कति असफल भए। प्रविधिको स्वादै नचाखी काम ग¥यौं। जटिलता थुप्रै थिए। कानमा, नाकमा किरा परेका बिरामी आउँथे। आर्थिक अवस्था निकै कमजोर भएकाहरु पनि आउँथे। उनीहरुको अवस्थाले मन निकै कुड्याउँथ्यो। सदरमुकामकै मान्छेको हालत खराब थियो। भने गाउँका मान्छेहरुको अवस्था सम्झँदा पनि आँङ सिरिङ्ग हुन्छ।’
गाउँमा हुँदा उनले नांगो हातले धेरै महिलाहरुलाई सुत्केरी गराएको अनुभव सुनाइन्। साधन स्रोतको उपलब्धता नहुनाले यस्ता जटिलतामा जोखिम मोलेर काम गर्नु परेको उनको मत छ।
उनी १० वर्ष कालिकोट बसिन्। लामो समय एउटै जिल्लामा बस्नु राजनीतिक कारण थियो। उनले विद्यार्थी कालमा अंगालेको पार्टीको कर्मचारी संगठनमा पहुँच थिएन। उनीसँगै काम सुरु गरेका कर्मचारी चाँर पाँच ठाउँमा सरुवा भइ घर पायक आइसकेका थिए। उनी अहिले पनि घरपाइक नभएको गाउँपालिकामा काम गरिरहेकी छिन्। राजनीतिक कारण घरपायक आउन नपाएपनि गाउँका जनताको सेवा गर्न पाएको खुसी भएको बताउँछिन्। ‘जागिरको दौरानमा कति राम्रा मान्छेसँग संगत भयो। कति नराम्रा। आफूसँग पढेका, आफ्नै मानेकाले धोका दिए। फसाउन पनि खोजे। कोही पराइले पहीले हात समाएर अघि बढाए। थुप्रै अरोहअवरोहको संगालो नै जागिरे जीवन रहेछ,’ उनले लामो सास भनिन्, ‘जिन्दगीको सगरमाथा चढ्दा कति ठाउँमा अक्सिजन अभाव भयो। हरेस खाइन। अघि बढिरहे। जब गाउँका जनताको अपार माया पाइन्छ अनि सगरमाथाको टुप्पोमा पुगेझैं आन्नद आउँदो रहेछ।’