सन् १९७७ को शानेबानी काण्डः जसका कारण श्रीलंका र नेपालको सम्बन्ध बिग्रियो

नवीन अर्याल

काठमाडौं

सन् १९७७ को मार्चमा तत्कालीन शाही नेपाल वायुसेवा निगमले पहिलोपल्ट श्रीलंकामा सिधै विमान सञ्चालन गर्ने स्वीकृति प्राप्त गर्‍यो। तर, त्यसको ४ महिनापछि एउटा काण्ड भयो। जुन काण्डले नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई चिसो तुल्यायो। यद्यपि विवाद लामो समय टिकेन तर यसले गौतम बुद्धको जन्म कपिलवस्तुमा भएको तथ्यलाई श्रीलंकामा स्थापित गर्न ठूलो मद्धत गर्‍यो।

१९७७ मा श्रीलंकाली सरकारले कपिलवस्तुको भगवान बुद्धको एउटा अस्तु धातु आफ्नो देशमा घुमाउने निर्णय गर्‍यो। सन् १८९६ मा फेला परेको यो धातुको नक्कली स्वरूप भारतको राजधानी नयाँ दिल्लीको म्युजियममा पनि थियो। भारतले उत्तर प्रदेशको बहराइचमा पर्ने सैयद मैयदलाई जबरजस्ती कपिलवस्तु दावी गरेको कसैबाट लुकेको छैन। दिल्लीको म्युजियममा रहेको धातुलाई कपिलवस्तुको भन्दै श्रीलंका लैजान भारतले पनि सक्दो प्रयास गरिरहेकै थियो। तर, त्यतिबेला दिल्लीबाट सिधा उडान कोलम्बोका लागि थिएन।

त्यसैले श्रीलंकाली सरकारले कोलम्बोबाट काठमाडौं हुँदै दिल्लीसम्म जाने र दिल्लीबाट पुनः काठमाडौं हुँदै कोलम्बो त्यो अस्तु धातु लिएर फर्किने योजना बनायो। यो कुरा थाहा पाएका एक भिक्षुले कोलम्बोमै कडा शब्दमा विरोध गरे। उनी श्रीलंकाको रेडियोमा नेपाली कार्यक्रम सञ्चालन गर्थे। र, उनको भनाई थियो, ‘नेपालमा कपिलवस्तु हुँदाहुँदै, बुद्धको धातु किन भारतबाट ल्याउने?’

वास्तवमा यो काण्डभन्दा एक वर्षअघि तत्कालिन राजा वीरेन्द्रको जन्मदिनको अवसर पारेर श्रीलंकाको रेडियोबाट साँझ साढे ७ बजे नेपाली कार्यक्रम प्रसारण हुन्थ्यो। दुई देशको कला तथा संस्कृतिलाई समेटिएर तयार पारिएको यो कार्यक्रमको सञ्चालक थिए, भिखु मैत्री महाथेरा।

उनी सन् १९६८ मै भिक्षु बन्न नुवाकोटको त्रिशूलीबाट श्रीलंका पुगेका थिए। उनको ठूलो बुवा धर्मरत्न शाक्य, नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव थिए भने २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित विपी कोइरालाको सरकार अपदस्त गरेपछि कोलकाता लागेका थिए।

बाउबाजेको पहिलेदेखि गहना बनाउने पसल थियो। सम्पन्न परिवारमा जन्मिए पनि उनी सानैदेखि धर्मप्रति बढी नै झुकाव राख्थे। उनलाई बाजेको सम्पन्नता र बुवाहरूको राजनीतिभन्दा धर्मकर्ममा बढी आनन्द मिल्थ्यो। उनको बाजेहरूले मिलेर त्रिशूलीमा पहिले नै सुगदपुर बिहार निर्माण गरिसकेका थिए।

धर्मप्रति उनको बढ्दो रुचिका कारण घरको कान्छो सदस्य भए पनि उनलाई आनन्दकुटीमा भिक्षु अमृतानन्दबाट शिक्षा प्रदान गरियो। यही बौद्ध धर्मको शिक्षा लिन आउनेमध्ये १० जनालाई थप अध्ययनका लागि श्रीलंका पठाउने निधो भयो। यसमा उनी पनि सहभागी भए।

श्रीलंकामा उनको गुरू थिए, बि बिमलवंश महाथेरा। जो पूर्वराष्ट्रपति प्रेमादासाको पनि गुरू थिए। त्यसैले भिकु मैत्रीको प्रेमदासासँग राम्रो हिमचिम थियो। प्रेमादासासँग जोडिएको उनको अर्को रोचक प्रसंग पनि छ, त्यो पछि विस्तार गरौंला।

सन् १९७७ मा भारतको दिल्लीबाट ल्याउन लागिएको अस्तु धातुको विषयमा भिकु मैत्रीको विरोध जायज र स्वभाविक थियो। यसमा श्रीलंकाका थुप्रै बौद्धिक धार्मिक संगठन सहमत थिए। तर, तत्कालिन राष्ट्रपति जेआर जयबर्धनेको निर्णयको अगाडि कसको बोल्ने ताकत थियो र?

भिकु मैत्रीले नेपालमा कपिलवस्तु हुँदाहुँदै भारतबाट गर्न लागिएको कू-प्रचारको भण्डाफोर गर्न खोजे। उनले थुप्रै ठाउँमा आफ्नो लेख छपाउन नखोजेका होइनन्। तर, सबैले अस्वीकार गरे। एउटा कम्युनिष्ट समर्थक पत्रिकाले भने उनको लेख प्रकाशित गर्‍यो। उनको यो कार्यबाट तत्कालिन सरकार खुसी भएन। 

श्रीलंकाली सरकारले दिल्ली म्युजियमबाट ल्याउन लागेको अस्तु धातु काठमाडौंको हवाईबाटो हुँदै कोलम्बो पुर्‍याउन शाही नेपाल वायुसेवा निगममा जुलाईका लागि ८ वटा टिकट रिर्जभ गरेको थियो।

काहीबाट केही सीप नलागेपछि भिकु मैत्रीले एउटा उपाय निकाले। त्यो भनेको–श्रीलंकाली प्रतिनिधिलाई दिल्लीसम्म पुग्नै नदिने। यसका लागि उनले थुप्रै नेपाली अधिकारीसँग कुरा गरे। उनको एउटै मात्र भनाई थियो, ‘दिल्ली म्युजियममा कपिलवस्तुको जुन अस्तु धातु भनिएको छ, त्यो नक्कली हो। त्यसलाई कपिलवस्तुको अस्तु धातु भनेर श्रीलंकामा प्रचार गर्न पाइन्न।’

यतिबेला वायुसेवा निगमको मार्केटिङ डाइरेक्टर थिए, विनय शर्मा। दिवाकर र प्रभाकर शमशेर राणा सञ्चालक। उनले विनयलाई श्रीलंकाली प्रतिनिधि आउने समयमा प्लेन रद्ध गर्न आग्रहसहित टेलेक्समार्फत पत्र पठाए।

उनले चारैतर्फ दौडधुप गरेको मिहिनेतले रंग ल्यायो। अन्ततः वायुसेवा निगमले श्रीलंकाली प्रतिनिधि आउने समय हेरेर जुलाई र अगस्टको बीचमा तीन पल्ट प्लेन रद्ध गर्‍यो। यो घटनाबाट क्रुद श्रीलंकाली राष्ट्रपति जेआर जयबद्र्धनेले सेनाको हेलिकोप्टरै दिल्ली पठाए। 

श्रीलंकाली सेनाको हेलिकोप्टरबाट ल्याइएको दिल्लीको त्यही बुद्धको अस्तीको धातु करिब तीन महिना श्रीलंकाको विभिन्न शहरमा घुमाइयो। कोलम्बोमा घुमाउने क्रममा एकदिन आर्ट ग्यालरीमा एउटा कार्यक्रम राखिएको थियो। त्यो कार्यक्रममा सहभागी हुन भिकु मैत्री आफ्ना तीस अनुयायी लिएर आर्ट ग्यालरीभित्र प्रवेश गर्दा श्रीलंकाली पदाधिकारीसमेत चकित परे। भिकु मैत्री त्यहाँ उपस्थित हुनुको कारण उनीहरूलाई थाहा थिएन। उनीहरू सोध्दै थिए, ‘तिमी त विश्वास नगर्ने मान्छे किन यहाँ आयौं।’

भारतबाट त्यो अस्तु धातुसँगै श्रीवास्तव थरका एक पदाधिकारी आएका थिए। उनले आर्ट ग्यालरीको खचाखच सभामा ‘नेपालमा फेला परेको अस्तु धातु गलत हो। त्यो सही होइन। भारतमा फेला परेको नै सही हो’ भन्दै के थिए, भिकु मैत्रीले जुरूक्क उठेर प्रतिवाद गरे, ‘महाशय! तपाईले जे बोलिरहनु भएको छ, त्यो प्रमाणित गर्न सक्नुहुन्छ। तपाईसँग यो बोल्ने प्रमाण के छ?’

उसले जवाफ फर्कायो, ‘हामीसँग सिक्का छ। फोटो पनि छ।’ उसले सिक्का पनि देखायाे। त्याे सिक्कामा लेखिएकाे थियाे–‘कपीलवत्थु भिक्खु संघस्स इमं देवपुत्त विहार’। सिक्कामा लेखिएकाे सन्देश पढेपछि भिकु मैत्रीले हाँस्दै उनलाई सोधेछन्, ‘महोदय! तपाईलाई पाली भाषा आउँछ।’ उ एकछिन अकमकियाे। यसपछि त्यसकाे अर्थ प्रष्ट पार्दै भिकु मैत्रीले भनेछन्–‘मान्यवर, यसकाे अर्थ हुन्छ–कपिलवस्तु भिक्षु संघकाे देबपुत्र बिहार। यसकाे मतलब श्रील‌का बिहार संसारभरी छरिएकाे छ। २–३ सय वर्षपछि श्रीलंकाले आफ्नाे बिहार भएकाे ठाउँलाई श्रीलंका भन्न पाउँछ? याे हिसाबले त श्रीलंका बिहार जहाँ जुन देशमा छ, पछि ती सबै श्रीलंका हुने भयाे।’

उनकाे तर्क सुनेपछि कार्यक्रम हलभित्रै होहल्ला सुरु भयो। कार्यक्रम तत्कालिन संस्कृति मन्त्रीको रोहवरमा सञ्चालन भइरहेको थियो। अब श्रीलंकाली सरकारलाई नै आपत पर्‍यो। स्वयम् संस्कृति मन्त्रीले उभिएर भन्नुपर्‍यो, ‘बादविवाद बन्द गरौं।’ कार्यक्रम अपुरो र अधुरो भएपछि सरकारले नै उनलाई त्यहाँबाट बाहिरिन आग्रह गर्‍यो।

‘यो घटनापछि मेरो सम्बन्ध बिग्रियो। मलाई पासपोर्ट बिना, एउटा पत्रको आधारमा काठमाडौं फर्काइयो,’ ४३ वर्षअघिको कुरा सम्झँदा अहिले पनि हासो गर्ने भिकु मैत्री भन्छन्, ‘नेपालमा मुखले मात्र बुद्ध नेपालमा जन्मिएको भन्ने गर्छन। तर, व्यवहारमा भारतसँग सबै थुरथुर।’

त्यो घटनाका कारण श्रीलंकासँग बिग्रिएको नेपालको सम्बन्ध जोड्न उनैले निकै पापड बेल्नु पर्‍यो। नेपाल सरकारले असहयोग गरेको भन्दै श्रीलंकाली सरकारको आँखाको तारा बनेका भिकु मैत्रीलाई बिना कुनै कागजपत्र ‘डिपोर्ट’ गरिएको थियो।

तीन महिना नेपालको सरकारी कार्यालयको चक्कर काटेपछि नयाँ पासपोर्ट बनाएर उनी फेरि श्रीलंका उडे।

‘श्रीलंकासँग बिग्रिएको सम्बन्ध सुधार गर्न मैले धेरै पापड बेल्नुपर्‍यो। प्रभाकर शमशेरलाई कोलम्बो बोलाए। मन्त्रीसँग कुरा गर्न लगाए। राजा वीरेन्द्रले नै चिट्ठी पठाउनुपर्‍यो’, उनी भन्छन्, ‘राजाको पत्रमा जयबर्धनेलाई नेपाल भ्रमणको निम्तो पनि थियो।’

नभन्दै जयबर्धने १९७८ मा नेपालको भ्रमणमा आए। यति बेला भिकु मैत्रीले एउटा ठूलो काम गरे। उनले श्रीलंकाका एटिबिई परेराले लेखेको ‘कपिलवस्तु कर्णङ्ग्रम’ अर्थात पिपरूवा भर्सेस तिलौराकोट सम्बन्धी किताब नेपालको पुरातात्त्वीक विभागबाट छाप्न लगाएर नेपाल भ्रमणको क्रममा राष्ट्रपति जयबर्धनेद्धारा बिमोचन गराए। उनले जयबर्द्धनेलाई कपीलवस्तुकाे तथ्य देखाउन उही लिएर गए। वास्तवमा यो कार्य जयबर्धनेलाई गौतम बुद्ध र कपिलवस्तुको बारेमा सही सूचना दिने ठूलो कडी बन्न पुग्यो।

राजा वीरेन्द्र अर्को वर्ष नै जयबर्धनेको निम्तो थाप्न कोलम्बो पुगे। नेपाल र श्रीलंकाको बिग्रिएको सम्बन्ध पुनःताजा भयो। १९८४ सम्म नेपाली विमान कोलम्बोसम्म चल्यो।

‘यति बेला मैले पुरातात्त्वीक महत्वको थुप्रै चिट्ठी पत्र पठाए। तर, विदेश विभागमा बसेकाहरू चुइक्क समेत गर्दैन्थे। भारत भनेपछि त्यसै डराउने। किन हो? थाहा भएन। नचुकेको भए आफ्नै देशको संस्कृतिको बारेमा बोल्न किन डराउनू?,’ उनी भन्छन्।

सन् १९८८ मा प्रेमादासा प्रधानमन्त्री हुँदा काठमाडौं आएका थिए। यति बेला प्रेमादासाको लुम्बिनी आउने कुनै कार्यक्रम थिएन। तर, भिकु मैत्रीकै प्रभाव थियो, श्रीलंकाली प्रधानमन्त्री लुम्बिनी मात्र आएनन्, भूत बंगलामा परिणत भइरहेको श्रीलंकन गेस्ट हाउसको पूननिर्माणका लागि श्रीलंकाली सरकारले थप ७७ लाख रुपैयाँ प्रदान गर्‍यो। यतिबेला पनि उनले राजा बीरेन्द्रसँग आग्रह गरेर एउटा हेलिकाेप्टरकाे व्यवस्था गर्दै प्रेमादासालाई कपीलवस्तु घुमाएका थिए।

‘प्रधामन्त्री प्रेमादासालाई लुम्बिनी जाने हो भनेको मात्र के थिए, जाउ भन्न थाल्नुभयो। लिएर आएँ। काठमाडौंमा ठूलो नागरिक अभिनन्दन पनि भयो,’ ४ दिन श्रीलंकाली प्रधानमन्त्रीसँगै रहेका भिकु मैत्री भन्छन्,‘प्रेमादासालाई कपीलवस्तु घुमाउन राजा वीरेन्द्रलाई आग्रह गरे। उहाँले उपलब्ध पनि गराउनु भयाे।’

उनकै रोहवरमा १९९१ देखि ९५ सम्म श्रीलंकन गेस्टहाउस सञ्चालन भएको थियो। ६६ वर्षीय भिकु मैत्री अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष हुन्। उनी अखिल नेपाल भिकु संघ र आनन्द कुटी बिहारका अध्यक्ष पनि हुन्। उनी लुम्बिनी विकास बोर्डका धार्मिक सल्लाहकारमा पनि नियुक्त छन्।

उनी सन् १९७६ भन्दाअघि लुम्बिनी आउँदा बाटोघाटो बनेको थिएन। काठमाडौंबाट पोखराको बाटो हुँदै स्याङ्जाबाट लुम्बिनी झर्नुपर्थ्यो। सन् १९७६ मा पशुपति शमशेर राणा शिक्षा मन्त्री हुँदा कन्फ्रेन्समा भाग लिन कोलम्बो आएका थिए। त्यति बेला भिकु मैत्रीले पशुपतिलाई एउटा सुझाव दिँदै भनेका रहेछन्, ‘भारतले बुद्ध आफ्नो देशमा जन्मिएको प्रचारप्रसार धुमधामका साथ गरिरहेको छ। तपाईहरूले अहिलेसम्म भगवान बुद्ध जन्मिएको ठाउँ जाने बाटो पनि बनाउनु भएको छैन। तुरुन्त बनाउनु पर्‍यो।’

यतिबेला पशुपतिले उनलाई भनेका थिए, ‘तपाई आउनुस्। एक वर्षभित्र निर्माण भइसक्छ।’ सन् १९७७ मा भिकु मैत्री नेपाल फर्किएका थिए। उनी भन्छन्, ‘नभन्दै एक वर्षमा लुम्बिनी जाने बाटो तयार भएको थियो। पशुपति यति बेला निर्माण तथा यातायात मन्त्री पनि थिए।’

भिकु मैत्रीले आफ्नो अगुवाईमै बिपसेना गुरु गोयन्कालाई १९९२ मा लुम्बिनी ल्याएका थिए। गोयन्का लुम्बिनीमा योग र ध्यान सिकाउँथे।

‘स्थानीयहरू योग र ध्यान सिक्न आउँदा अरु ठाउँमा काम गर्दा ५० रुपैयाँ पाइन्छ। ध्यान बस्दा कति पाउँछ भन्थे,’भिकु मैत्री पुरानो कुरा सम्झँदा रोमाञ्चित हुँदै भन्छन्, ‘अहिले यहाँका चौधरी आफै भिक्षु बनेको देख्दा खुसी लाग्छ।’

उनकै सक्रियतामा सन् १९९३ मा लुम्बिनी चोकमा पहिलो टेलिफोन बुथ राखिएको थियो। यसअघि लुम्बिनी विकास कोषमा मात्र टेलिफोन थियो। यस्तै, यो ठाउँलाई बुद्धनगर भनेर नामाकरण गाउने व्यक्ति पनि उनै हुन्। हाल उनी बुद्धको उपदेश जनमानसमा फैलाउनुका साथै शिक्षा तथा स्वास्थ्य जस्ता मानवीय कार्यमा उत्तिकै सक्रियताका साथ लागेका छन्।

प्रकाशित मिति: : 2020-05-11 13:50:38

प्रतिकृया दिनुहोस्