सुरक्षामा वार्षिक एक खर्ब ११ अर्ब बजेट, तर सीमा सुरक्षा उपेक्षित

नवराज मैनाली/चिरञ्जीवी घिमिरे

महामारीमा पनि डटिरहेछन् सुरक्षाकर्मी : झापाको कचनाकवलस्थित पाठमारीको सीमा पोस्टको कथाले सिमानामा खटिएका सुरक्षाकर्मीको व्यथा बयान गर्छ । काठको खम्बामा बल्लतल्ल उभिएको ‘सुरक्षा पोस्ट’ त्रिपालले छोपिएको छ । प्रहरी त्यहीँभित्र सुत्छन् र पालैपालो पहरा दिन्छन् । जब हावाहुरी आउँछ, सबै मिलेर त्रिपाल समातेर जोगाउँछन् । जब पानी पर्छ, एकै ठाउँ गुजिल्टिएर जोगिन खोज्छन् । तर, पानीले भिजाएपछि अर्को दिन घाम लागोस् भने कामना गर्छन् । नयाँ पत्रिकाकर्मी रिपोर्टिङमा जाँदा सीमामा खटिएका सुरक्षाकर्मी बारमा ‘युनिफर्म’ सुकाइरहेका थिए । ‘हिजो राति हुरी आयो, तर सबै मिलेर पाल जोगायौँ, तर पानी तर्काउन सकिएन, भिजेका कपडा अहिले सुकाएका छौँ,’ उनीहरू भन्दै थिए । 

सीमा अतिक्रमण गरेर नेपाली भूमिमा भारतले डोजर लगाएको समाचारले नेपाली मुटु आन्दोलित हुन्छ, तर हाम्रा सुरक्षाकर्मी कुन अवस्थामा सिमानामा तैनाथ छन्, नयाँ पत्रिका संवाददाताले खिचेको यो तस्बिर हेर्दा हाम्रो मन पिरोलिन्छ ।

भारतले सीमा मिच्ने मात्र होइन, लकडाउन तोडेर मान्छे आवतजावत गर्ने ‘जोखिम’ पनि छ । त्यसैले सरकारले निगरानी बढाएको छ । तर, राष्ट्रिय जिम्मेवारी बोेकेर सीमामा खटिएका सुरक्षाकर्मीले हावाहुरी र पानीसँग आफ्नै सुरक्षा कसरी गर्ने ? उनीहरू बस्ने कुनै गतिलो संरचना छैन । 

प्रकाशित मिति: : 2020-05-11 08:17:41

प्रतिकृया दिनुहोस्