मातृभूमि फर्कने चाहना नागरिकको स्वभाभिक र नैसर्गिक अधिकार हो-कांग्रेस नेता श्रेष्ठ

‍कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गर्दा भारत, मध्यपूर्व, युरोप र अमेरिकालगायतका देशमा शिक्षा, व्यवसाय र रोजगारीका शिलशीलामा रहेका नेपालीहरू स्वदेश फर्कन आतुर रहेको भन्दै कांग्रेस नेता एवं उप-सभापति गोपाल मान श्रेष्ठले तत्काल यसका लागि सरकारले व्यवस्था गर्नुपर्ने बताएका छन्।

जोखिमको समयमा मातृभूमि फर्कने चाहना स्वभाभिक र नैसर्गिक अधिकार भएको उनले बताए।

लकडाउनको कारण नेपाल-भारतको सीमावर्ती क्षेत्रहरुमा अहिले पनि हजारौं नेपालीहरू अलपत्र अवस्थामा रहेका छन्। नेपाल भित्रिने सिमीत नाकामा कडाई गरेएता खुला नाकाको प्रयोग गर्दै दैनिक भारतबाट स्वदेश फर्कनेक्रम अझै रोकिएको छैन।

भारतसँगै अन्य तेस्रो मुलुकमा रहेर भिसाको म्याद सकिएपछि अलपत्र आफ्ना नागरिकलाई यथासिघ्र नेपाल आउने वातावरण मिलाउनु पर्ने र यस्तो गर्न नसके आगामी दिनमा ठूलो जोखिम निम्तिन सक्ने श्रेष्ठले औंल्याए।

‘संकटको यस घडिमा नेपाली नागरिकले विदेशी भूमिमा सहनु परेको अपमान अत्यन्त दुःखद र मार्मिक छ,’ उनले भने, ‘साथै समग्रमा यसले नेपाली नागरिकमा आफ्नो राष्ट्रप्रतिको भावनालाई समेत कमजोर बनाएको छ।'

संसारका प्रत्येक देशले विदेशी भूमिमा अलपत्र आफ्ना नागरिकको उद्धार, राहत र स्वदेश फर्काउन सफल रहेको सन्दर्भलाई स्मरण गराउँदै उनले नेपाल सरकारलाई पनि यथाशिघ्र भारतलगायत अन्य देशमा अलपत्र नेपाली नागरिकलाई सुरक्षित नेपाल फर्काउन आग्रह गरे।

यसका साथै विदेशमा रहेका नेपालीलाई नेपाल ल्याइसकेपछि संघीय सरकारले नागरिकको सम्बन्धित प्रदेश, जिल्ला प्रशासन र स्थानीय सरकारसँग समन्वय गरि कम्तिमा तीन साता क्यारेनटाइनमा राखी स्वास्थ्य परीक्षण गरेर मात्र परिवार र समुदायमा पुर्‍याउन उनले सुझाव दिए।

लकडाउनको ४८ औं दिनसम्म वितिसक्दा पिसीआर मार्फत परीक्षण करिब १५००० को हाराहारीमा मात्र छ।

परीक्षण बिना लकडाउन समय मात्रै लम्ब्याएर समस्याको समाधान नहुने र परीक्षणको दायरा नबढाएसम्म हामी सुरक्षित बन्न नसकिने उनले बताए।

सरकारले यस महाव्याधिलाई प्रमुख प्राथमिकतामा राखेर नियमित अत्यावश्यक खर्चबाहेक अन्य खर्चलाई विपद कोषमा लगाई पिसीआर प्रविधिमार्फत कोराना परीक्षणको संख्या बढाउनसमेत सरकारसमक्ष आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-05-10 08:11:26

प्रतिकृया दिनुहोस्