निजी अनलाइन पढाउँछन्, सरकारीका विद्यार्थीसँग फोनसमेत छैन

थाहा खबर

हेटौंडा

अमृत चिमरिया
लकडाउनका कारण यतिबेला विद्यार्थी फुर्सदमा छन्। लकडाउन लम्बिँदै जाँदा विद्यालय खुल्ने अनिश्चित बनेको छ। कतिपय विद्यालयले अनलाइनमार्फत विद्यार्थीलाई पढाइरहेका छन्। विशेषगरी सहरबजार र निजी विद्यालयले विद्यार्थीहरुलाई इन्टरनेटमार्फत पढाएका छन्। तर देशका प्रायः सार्वजनिक विद्यालयमा यसको अभ्यास हुन सकेको छैन।  लकडाउनका कारण सबैभन्दा बढी प्रभावित एसइई तयारी गरिरहेका विद्यार्थी र तिनका अभिभावक बनेका छन्। इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने त परै जाओस्। सार्वजनिक विद्यालयका विद्यार्थी विद्यालयसँगको नियमित सम्पर्कमा समेत छैनन्।

हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन शर्मा भन्छन्, ‘१० प्रतिशत विद्यार्थी पनि इन्टरनेटको पहुँचमा छैनन्।’ केही त टेलिफोन सम्पर्कमा समेत आउन नसकेका उनले बताए।   एसइई तयारीमा रहेका सिद्धार्थ माविको छेउकै बालजागृति माविका विद्यार्थी सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित गृहकार्य गरिरहेका छन्। जिल्लाका अन्य निजी विद्यालयहरुले पनि फेसबुकमार्फतै अध्यापन गराइरहेका छन्। हेटौंडाको ठूलो मानिने निजी कलेज हेटौंडा स्कुल अफ म्यानेजमेन्टले पनि ‘जुम एप्लिकेसन’ तथा ‘ग्रुप च्याट’मार्फत अहिले कक्षा ११ र १२ लाई नियमित  अनलाइन कक्षा दिइरहेको छ। 
 

प्रकाशित मिति: : 2020-05-09 18:54:44

प्रतिकृया दिनुहोस्