सफा थियो, आकाश। लागिरहेको थियो, चर्को घाम। उबरबाट झरेर म लागेँ, अहमदाबाद जंक्सनको प्लेटफर्म नम्बर ६ तिर। चर्को घामको रापले चरक्क पोले, दुवै गाला। घाम छल्न मैले लामा पाइला चालेँ। र, हतारहतार अघि बढेँ। गेटबाट दुई मिनट पैदल हिँडेपछि आइपुग्छ ६ नम्बर प्लेटफर्म। त्यही प्लेटफर्मबाट म चढ्नुछ- इन्दौर जाने शान्ति एक्सप्रेस-१९३०९।
प्लेटफर्मतिर लम्किँदै गर्दा दायाँ हातमा बोकेको वन्प्लस मोबाइलको स्वीच बटन दबाएँ, टाइम चेक गर्नलाई। भर्खर ७ बज्दै छ। रेल आइपुग्न अझै २० मिनेट लाग्नेछ- सोचेँ मनमनै। र, गएर बसेँ ६ नम्बर प्लेटफर्म अगाडिको एउटा फलामे मेचमा।
मेरो साथमा छन्- एउटा सानो लगेज र ह्यान्ड ब्याग। लगेजछेउमा राखेर मोबाइल स्क्रोल गर्न थालेँ। ‘आज फेरि मब लिन्चिङको खबर आएछ,’ अनायासै गुन्गुनाएछु। बायाँपट्टि छेउमा बसेको एक अधबैँसे पुरुषले पुलुक्क हेरेपछि पो थाहा पाएँ।