को हो निर्मल लामा ? को हो वामपन्थी नेता ? धेरैका लागि उहाँ निर्मल लामा । हाम्रालागि त उहाँ हाम्रो खास आपा । खास–आपा अर्थात् स्पेशल फादर । हो, यो हामीले उहाँको जीवनभरि बोलाएको नाम हो । संसारमा हामी दुई निमा र मबाहेक कसैले उहाँलाई त्यस नामले बोलाउँदैन । बहिनी विशाखा लामाले आपा मात्र भन्छे । निमा निर्मल लामा र सुकन्या वाइबाका छोरा, मेरा अभिन्न मित्र ।
उहाँलाई सो नाम हामीमार्फत् मेरो साथी–आमा सुकन्या वाइबाले दिनुभएको हो । जसरी उनले हामीमार्फत् पारिजातलाई ‘पु’ नाम दिनुभयो, त्यसैगरी निर्मल लामालाई खास आपा ।
यो त्यसताकाको कुरा हो, जति बेला देशमा पञ्चायती शासनकाल थियो । उहाँ भूमिगत बस्नुभएको थियो । उहाँको परिचय र काम लुकाउन पनि त्यस नामको आवश्यकता भएको थियो ।