कोभिड–१९ को संक्रमण र यसको नियन्त्रण गर्न गरिएको मानव लकडाउनले नेपालसहित संसारलाई तड्पडाइरहेको छ। अर्थतन्त्रसहित सारा विश्वलाई नै परिचालन गर्ने मानवप्राणी नै लकडाउनमा छ। भूकम्प, नाकाबन्दी, बाढीपहिरो, समुद्री सुनामी, महावित्ताीय संकट इत्यादि भन्दा यो धेरै फरक छ। अतः अर्थतन्त्रसहित मानवप्राणीको लकडाउन हँुदा यसको असरको आयतन र गहिराई तत्काल आकलन नै गर्न नसकिने तथा बहुपक्षीय छ। कमजोर आर्थिक, स्वस्थ्य र डिजिटलाइजेसन क्षमताका साथै सहज दक्षिणको खुला सीमानाले हाम्रोजस्तो अर्थतन्त्रलाई झन् जोखिमपूर्ण र जटिल बनाएको छ।
नेपालको अर्थतन्त्र कोभिडको संक्रमण हुनुअघि नै चालु आव ०७६/७७ को प्रथम आठ महिनासम्ममा पनि विगतको भन्दा सुस्ताएको स्थिति थियो। कमजोर आर्थिक वृद्धि क्षमता भएको अर्थतन्त्रले विगत तीन वर्षमा अनुकूल मौसम, लोडसेडिङ समाप्त र बन्द–हडताल इत्यादि कारणले ६ प्रतिशतभन्दा बढी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि ‘विण्डफलगेन’ जस्तै रूपमा भए पनि यो वर्षका आर्थिक गतिविधि सुस्त रहँदै आएको थियो। चालु आव ०७६/७७ मा प्रतिकूल मौसमले धानसहित केही कृषि उत्पादनमा ह्रास आउनु, प्रमुख निर्माण सामग्रीसहितको औद्योगिक उत्पादनमा शिथिलता आउनु, पहिलो छ महिनामा बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा कर्जाप्रवाह सुस्त तथा पुँजीगत खर्च १५ प्रतिशतमात्र भएको इत्यादि कारणले लकडाउन हुनुअघिसम्म ८.५ प्रतिशतको महत्तवाकांक्षी सरकारी वृद्धि लक्ष्यको तुलनामा प्रथम त्रैमासिक अवधिमा करिब ४.५ प्रतिशत जीडीपी बढ्ने केन्द्रीय तथ्यांक विभागले प्रारम्भिक अनुमान गरेको थियोे। यी सबै पक्षलाई दृष्टिगत गर्दा वृद्धि त्यसबलासम्म ४ प्रतिशतको हाराहारीमा रहने स्थिति थियो।