कोभिड नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना (कोभिड १९) भाइरस विश्वका लागि ठूलो चुनौति रहेको र चीनले प्राप्त गरेको अनुभव कोभिडको संक्रमण नियन्त्रणमा महत्वपूर्ण निधि सावित भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया ग्रुपले संयुक्त आयोजना गरेको नेपाल चीन स्वास्थ्य विशेषज्ञ भर्चुवल मञ्चमा मन्त्री ढकालले नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडा मेहनतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको बताएका हुन्।

महामारी नियन्त्रणमा चिनियाँ अनुभव सारा विश्वको लागि उपयोगी हुने मन्त्री ढकालले विश्वास ब्यक्त गरे।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले कोभिड १९ को महामारी समस्त मानव जातिको साझा त्रासको विषय बनेको उल्लेख गर्दै आपसी समन्वय र सहयोगबाट मात्रै कोभिड विरुद्ध लड्न शक्ति मिल्ने बताइन्।

पहाड र नदीहरूले जोडिएको नेपाल र चीनले महामारीको समना गर्न प्रदर्शन गरेको ऐक्यबद्धता र आपसी सहयोगले दुबै देश र जनताबीचको मित्रताको अगाध प्रतिविम्वित भएको स्पष्ट गरिन्।

महामारीको रोकथाम र नियन्त्रणमा नेपाल सरकारले चालेको कडा कदमको प्रशंसा गर्दै त्यसले नेपालमा सकरात्मक नतिजा देखिएको राजदूत हौले उल्लेख गरिन्।

नेपालको तर्फबाट मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पताल टेकुका चिफ कन्सल्ट्यान्ट फिजिसियन डा. अनुप बास्तोला तथा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले चिनियाँ चिकित्सकहरुसँग कोभिडसँग सम्बन्धित जिज्ञाशा राखेका थिए।

विपी कोइराला स्मृति क्यान्सर अस्पतालका चिनियाँ चिकित्सक टोलीका प्रमुख डा. लिउ लिउ, चीनबाट डा. चाङ्ग सिन ल्याङ्ग, डा. याङ्ग नान, डा. वाङ्ग फैलगायतले कोभिडको उपचार र महामारी नियन्त्रणमा प्राप्त गरेको अनुभव एवम् नेपाली विज्ञहरुबाट प्राप्त जिज्ञाशाको जवाफ दिएका थिए।

 

प्रकाशित मिति: : 2020-05-06 20:52:29

प्रतिकृया दिनुहोस्