बाख्रादेखि मेवासम्मलाई काेराेना देखिएपछि प्रयाेगशाला नै बन्द

एजेन्सी

तान्जानिया

तान्जानियाले आफ्नो राष्ट्रिय प्रयोगशालामाथि प्रश्न उठाउँदै कोरोना भाइरसको परीक्षण स्थगित गर्ने निर्णय गरेको छ। गत आइतबार बाख्रादेखि मेवासम्ममा कोरोना भाइरसको संक्रमण देखिएको खबर बाहिर आएपछि राष्ट्रपति जोन मागुफुलीले प्रश्न उठाएका थिए। 

उनले प्रयोगशालाको विश्वसनीयता, प्रयोगशालामा उपयोग हुने सामान तथा प्राविधिक जनशक्तिमाथि नै प्रश्न उठाए। यस्तै हालसम्म परीक्षण भएका व्यक्तिको रिपोर्टमाथि पनि उनले प्रश्न उठाएका छन्। 

उनले परीक्षणको नाममा फोहोरी खेल भइरहेको हुनसक्ने तर्फ इंकित गर्दै छानवीन आयोग गठन गर्ने बताएका छन्। तर, उनले परीक्षणका लागि खरिद गरेको किट्स कुन देशबाट आयात गरिएको भन्ने स्पष्ट पार्न सकेका छैनन्। 

‘उपयोग भएका बस्तु अथवा मानिसमध्ये कसैले गडबडी गरेका छन्। कहिले काही यसले ध्वङ्स निम्त्याउँछ,’ राष्ट्रपतिले सरकारी टेलिभिजन तान्जेनिया ब्रोडकास्टिङ कर्पोरेशनमा प्रत्यक्ष प्रसारणमार्फत भनेका छन्। 

प्रतिपक्षी सासंद जिटो काम्बे, जो ट्रान्सपेरेन्सीका प्रमुख पनि हुन्, उनले प्रयोगशालाका निर्देशक नेयाम्बुरा मोरेमीको बचाऊ गरेका छन्। 

‘प्राविधिक विषयमा राजनैतिक हस्तक्षेप भएकोमा चित्त नदुःखाउनु होला,’ काम्बेले ट्वीट गरेका छन्, ‘म पूर्णत विश्वस्त छु, तपाईले आफ्नो काम व्यवसायिक रूपमा गर्नुहुन्छ र तपाई तान्जानियाको उत्कृष्ट अनुसन्धानदाता पनि हो।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता क्याथरिन सुन्गुराले सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै यो घटनामा प्रयोगशालाका निर्देशक तथा गुणस्तरमापन विभागका प्रमुखलाई अनुसन्धानमा सहज होस् भनेर तत्कालै निलम्बित गरिएको बताइएको छ। 

गत आइतबार राष्ट्रपतिले सरकारी मेडिकल स्टोर डिपार्टमेन्टका प्रमुखलाई पदमुक्त गरेका थिए। पूर्व अफ्रिकी देश तान्जनियामा गत मार्च १६ मा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको थियो। त्यसयता ४ सय ८० संक्रमित भेटिएका छन् भने १६ जनाको मृत्यु भइसकेको छ। 

प्रतिपक्षीले सरकारले सूचना लुकाइरहेको आरोप लगाएको छ। तान्जनियामा स्कुल र कलेज बन्द भए पनि बजार र सार्वजनिक बस सुचारु छन्। राष्ट्रपतिले जनतालाई कामलाई यथावत राख्न तथा चर्च र मस्जिदमा जाने क्रम नरोक्न आग्रह गरेका छन्।  

प्रकाशित मिति: : 2020-05-06 08:02:49

प्रतिकृया दिनुहोस्