बेलायती प्रधानमन्त्रीकाे पदमै रहँदा सम्बन्ध बिच्छेद, २ सय ५१ वर्षपछिकाे दूर्लभ घटना

एजेन्सी

बेलायत

बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनको पूर्वश्रीमती मारिना विलरसँग वैधानिक रूपमा पारपाचुके भएको छ। बेलायतको अदालतले ५५ वर्पीय विलरले बेलायती प्रधानमन्त्रीसँग सम्बन्ध बिच्छेदका लागि गत मार्चमा अदालतमा दिएको निवेदन मंगलबार स्विकृत गरेकाे हाे। 

बेलायतमा सत्तासिन हुँदाहुँदै पारपाचुके भएको यो दोस्रो घटना हो। २ सय ५१ वर्षअघि सन् १७६९ मा ‘‘ड्युक अफ ग्राफ्टोन’ अगस्टुस फिट्रोयको पनि पारपाचुके भएको थियो। बोजो बेलायतका ७७ औं प्रधानमन्त्री हुन्। 

अब बोरिसलाई आफ्नो प्रेमिका केरी सिमोण्ड्ससँग विवाह गर्ने बाटो खुलेको छ। विवाह नगरेकै अवस्थामा सिमोण्ड्सले गत साता बोरिसको छोरा अल्फ्रेडलाई जन्म दिएकी थिइन। पूर्वश्रीमतीसँग २७ वर्ष लामो वैवाहिक जीवन परित्याग गर्न ‘बोजो’ उपनामले चर्चित बेलायती प्रधानमन्त्रीले ४० लाख पाउण्ड खर्चिनु पर्नेछ। अदालतले सम्बन्ध विच्छेदबापत ४० लाख पाउण्ड दिन निर्देशन दिएको हो। 

बोजोले अक्सफोर्ड विश्वविधालयमा अध्ययनरत रहँदै गर्दा सन् १९८७ मा अलेग्रा मोस्टियन ओवेनसँग विवाह गरेका थिए।

ओवेनसँग उनको पारपाचुके १९९३ मा भएको थियो। यसै वर्ष उनले विलरसँग बिहे गरेका थिए। उनीबाट ४ सन्तान छन्। सबैभन्दा जेठाे सन्तानको उमेर नै २६ वर्ष पुगिसकेको छ। बोजोको बेलायतमा जग्गाको कारोबार गर्ने हेलिना मेकेन्टायरबाट सन् २००९ मा स्टेफानी नाम गरेकी छोरी पनि जन्मिएको दावी पत्रपत्रिकाले गरेका थिए। यस विषयमा उनले कुनै प्रतिक्रिया जनाएका छैनन्।

नयाँ प्रेमिकासँग उनले ‘लकडाउन’ खुलेपछि विवाह गर्ने बेलायती समाचार एजेन्सीले जनाएका छन्।

 

प्रकाशित मिति: : 2020-05-06 07:16:59

प्रतिकृया दिनुहोस्