प्रधानमन्त्रीकाे आह्वान: मार्क्सवादलाई श्रमिक वर्ग र मानव जातिका हितमा सदुपयोग गराैँ

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको मुक्तिका चिन्तक कार्ल मार्क्सको २०२औँ जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन्। 

दार्शनिक मार्क्सको २ सय ३ जन्मजयन्तीका अवसरमा मंगलबार उनीप्रति सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानवजातिका तर्फबाट उनको योगदानप्रति कृतज्ञता ज्ञापन गरे।

‘कार्ल माक्र्सले विश्व मानव जातिको इतिहासमा चिन्तकका रुपमा एउटा सहश्राब्दीलाई नै सर्वाधिक रुपमा प्रभावित पार्नुभयो।मानव जातिको इतिहासलाई अध्ययन गर्ने मात्र होइन, त्यसलाई बदल्ने विचार दिनु भयो,’ प्रधानमन्त्री ओलीले जारी गरेको श्रद्धासुमनपत्रमा भनिएको छ।

उनले मानव समाजमा न्याय, समानता र श्रमिक वर्गको हितमा मार्क्सले अगाडि सारेकाे विचारले एउटा सहश्राब्दीलाई नै प्रभावित पारेको बताए।

यस्तै प्रधानमन्त्रीले उनको ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानवजातिका हितमा सदुपयोग गर्न सबैमा आह्वान गरे।
 
‘हाम्रो सन्दर्भमा आजको मार्क्सवाद देशबाट गरिवी हटाउने, जनताको जीवनमा सुख भर्ने, सामाजिक न्याय सहितको समानता कायम गरी मुलुकलाई समृद्ध बनाउने हो,'  उनले भने,‘समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरी हामी त्यस अभियानमा अग्रसर छौं।’

प्रकाशित मिति: : 2020-05-05 22:08:31

प्रतिकृया दिनुहोस्