कोरोना महामारीविरुद्ध लड्न सरकारले छुट्टायाे ३ अर्ब ४२ करोड

बिएल संवाददाता

काठमाडाै‌ं

 कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ। सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको हो।

प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको बताए।

उनले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा अहिलेसम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भए अनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको जानकारी दिए।

सरकारले कोरोना भाइरसको रोकथामका लागि डेढ खर्ब रुपैयाँ अन्तर्राष्ट्रिय सहायताको प्रतिवद्धता पाएको समेत अर्थमन्त्री खतिवडाले जानकारी दिए। यस्तो रकम स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिने उनले बताए।

लकडाउन लम्बिदै जाँदा सबै क्षेत्रका काम ठप्प भएकाले सरकारको खर्चमा समेत प्रभाव परेको उनले बताए। चैत मसान्तसम्म कुल चालु तर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात ४ खर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ।

यस्तै पूँजीगततर्फ वार्षिक लक्ष्यको करिब २६ प्रतिशत अर्थात १ खर्ब ५ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० प्रतिशत अर्थात ८४ अर्ब खर्च भएको मन्त्री खतिवडाले बताए।

प्रकाशित मिति: : 2020-05-04 16:38:05

प्रतिकृया दिनुहोस्