विद्यमान अवस्थामा जीवनरक्षाका निम्ति हाम्रासामु दुई प्रमुख चुनौती छन्— कोभिड-१९ संक्रमणबाट जोगिने र महाव्याधिको नियन्त्रणपछिका दिनमा विपन्नताको प्रकोपबाट सुरक्षित अवतरण। संक्रमणको महामारीबाट नागरिकको जीवन रक्षार्थ सरकारले अपनाएको प्रभावकारी रणनीति भनेको लकडाउन मात्र सावित भएको छ। लकडाउन कडाइका साथ पालना गरेर चीनले महामारी नियन्त्रण गर्ने सफलता हासिल गरेको छ।
भारतको अवस्था भने अझै जोखिमपूर्ण एवं चिन्ताजनक नै छ। हामीकहाँ प्रत्येक दिन न्यून भए पनि संक्रमित हुनेहरूको संख्या बढ्दोछ। राजनीतिक क्षेत्रमा देखापरेको शक्ति संघर्ष तथा लकडाउनलाई निरन्तरता दिँदा सरकारलाई हुने राजनीतिक लाभको समेत हिसाब गर्ने हो भने लकडाउन अवधि थपिने प्रवल सम्भावना छ। जति-जति लकडाउन लम्बिन्छ त्यति-त्यति अर्थतन्त्र खुम्चने र त्यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दै जान्छ। अर्थात् त्यसै पनि कमजोर अवस्थामा रहेको हाम्रो अर्थतन्त्र अझै तहसनहस हुने निश्चित छ। महाव्याधिले विश्वलाई पिरोलिरहेको छ। त्यसमध्ये पनि हाम्रा दुई छिमेकीमा अधिक सम्पर्क भएका राष्ट्रमा अझै संक्रमणको जोखिम उच्च रहेको वर्तमान परिपेक्षमा कोभिड-१९ को आर्थिक सामाजिक प्रभाव तथा असरहरूको आकलनको परिणाम वास्तविकभन्दा पृथक हुने सम्भावना प्रचुर देखिन्छ।