भारतीय राजदूत फेरिएपछि देखिएको सत्ता–संकट चिनिया राजदूतको सक्रियतासँगै अन्त्य

गजबको संयोग ! भारतीय राजदूत फेरिएर विनयमोहन क्वात्रा नेपाल आएसँगै नेपाली सत्ता–राजनीतिमा नयाँ तरंग देखा परेको छ । प्रधानमन्त्री फेर्ने तहसम्मको नेकपाभित्र देखिएको उक्त संकट चिनियाँ राजदूत छाउ यान्छीको सक्रियतापछि एकाएक तत्कालका लागि अन्त्य भएको छ ।

भारतीय राजदूत क्वात्रा फागुन १८ गते नेपाल आइपुगेका हुन् । उनले मञ्जीवसिंह पुरीलाई प्रतिस्थापन गरेका हुन् । पुरीले तीन वर्षे कार्यकालमा नेपालको आन्तरिक राजनीतिमा खासै ‘चासो’ देखाएनन् । उनले अत्यन्त राम्रो छवि बनाएर गएका थिए । वर्तमान राजदूत क्वात्राले राजनीतिबारे ‘चासो’ दिएजस्तो त केही सार्वजनिक रूपमा प्रकट भएका छैनन् तर परिणाम र प्रधानमन्त्री ओलीको भनाइले भने बेग्लै महसुस भएको छ । 

वर्तमान राजदूत क्वात्रा निकै अनुभवी कूटनीतिज्ञ पनि हुन् । ३२ वर्ष भारतीय कूटनीतिक सेवामा काम गरेका उनी फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्स जानुअघि प्रधानमन्त्री कार्यालयमा सहसचिवका रुपमा काम गरेका थिए । उनले तीन वर्ष बेइजिङमा डेपुटी चिफ अफ मिशन भएर पनि काम गरिसकेका छन् । उनी राजदूत हुनेबित्तिकै प्रधानमन्त्री ओलीको दुईतिहाइको समर्थन प्राप्त सरकार हल्लिनुलाई संयोग मात्र मान्न तयार छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निकटस्थहरुसँग अनुभव शेयर गरेका थिए, ‘माधवजी यस्तो हुनुहुन्नथ्यो तर यसपटक उहाँ निकै गम्भीर भूमरीमा पर्नुभएजस्तो छ । निस्कनै सक्नु हुन्न ।’ उनले आफूलाई फेर्न  नेपालमाथि ‘दक्षिणको दबाब’ रहेको बताएका थिए ।

नेकपाको बैशाख १६ को सचिवालय बैठकपछि सबैलाई लागेको थियो– प्रचण्ड–माधव पछि हट्दैनन् । प्रधानमन्त्रीबाट ओलीलाई हटाउने छन् । यो निर्णय भयो भने संभवतः नेकपा फुट्नसक्छ ।  नेकपाका नेताहरु शुक्रबार साँझ सुत्दासम्म अनुमान गर्दै थिए– भोलिको नेकपा सचिवालय बैठक बस्छ कि बस्दैन ? बस्या भने के निर्णय गर्ला । प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुसँग नझुक्ने बरु परेको ‘फेस’ गर्ने बताइरहेका थिए । 

नेकपा सचिवलयको बैठकले विवाद अन्त्य गर्ने निर्णय गरेर ‘सप्र्राइज’ दियो । सबै जना छक्क परे । बैठकअघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्डले पौने घन्टा आपसमा कुराकानी गरेका थिए । अघिल्लो दिनसम्म राजीनामा माग्ने प्रचण्डले त्यसको उच्चारण समेत गरेनन्, बरु प्रधानमन्त्री ओलीले जस्तै उनले पनि आत्मालोचना गरे । वरिष्ठ नेता माधवकुमार नेपाल चाहिँ छक्क परेका छन् ।   

नेकपा सचिवालय बैठकअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरुकै निवासमा पुगेर चीनिया राजदूत छाउ यान्छीले छलफल गरेकी थिइन् । उक्त छलफल केरोना भइरस संक्रमणपछिको परिस्थितिबारे गरेको जनाइएको थियो । परिणामले राजनीतिक थिएन भन्ने पत्याउन गाह्रो परेको छ ।  

प्रधानमन्त्री ओलीको सत्ता संकट बढेसँगै चीनका राष्ट्रपति सी चीनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोनमा कुराकानी गरेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको थियो । उक्त छलफल पनि कोरोनाबारे नै भएको बताइएको थियो ।  
 

प्रकाशित मिति: : 2020-05-03 16:06:51

प्रतिकृया दिनुहोस्