स्पेनमा मास्क अनिवार्य, सरकारले ६० लाख वितरण गर्ने

बिएल संवाददाता

बार्सिलाेना

स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले सरकारले ६० लाख मास्क वितरण गर्ने बताएका छन्। लकडान खुकुलो भएपछि कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्न मास्क वितरण गर्न लागिएका उनले बताए।

सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको स्पेन सरकारले सार्वजनिक यातायातमा चढ्दा सबैले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरेको छ।

विशेष गरी ती मास्कहरु सार्वजनिक यातायातका स्टेशनहरुमा वितरण गरिने उनले बताए। यस्तै थप ७० लाख मास्क स्थानीय अधिकारीलाई प्रदान गर्ने प्रधानमन्त्री सान्चेजले उल्लेख गरे।

सात हप्तापछि शनिबार वयश्कहरुले पनि घर बाहिर निस्किएर व्यायाम गर्न पाएका थिए। हप्तादिन अघि नै १४ वर्षमुनिका बालबालिकाहरुका लागि लकडाउन खुकुलो पारिएको थियो।

युरोपका अरु देशहरुमा पनि लकडाउन खुकुलो पार्न थालिएको छ। युरोपमा सबैभन्दा बढी प्रभावित भएको इटालीमा पनि लकडाउन केही खुकुलो पार्ने तयारी छ। इटालीमा अहिलेसम्म २८ हजार ७१० जनाको ज्यान गएको छ। यस्तै बेलायतमा २८ हजार १३१, स्पेनमा २५ हजार १०० तथा फ्रान्समा २४ हजार ७६० जनाको ज्यान गएको छ।

इटालीले सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ। यस्तै केही देशमा पसल तथा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गरिएको छ।

प्रकाशित मिति: : 2020-05-03 06:58:29

प्रतिकृया दिनुहोस्