प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेकाे छ। 

शनिबार साँझ सम्पन्न बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गाैतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने बचन दिएकाे पार्टीका प्रवक्ता नारायणकारी श्रेष्ठले जानकारी दिए।

‘प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको छ,’ उनले भने। 

'प्रतिनिधि सभामा ल्याउने निर्णयभित्रै वामदेव कमरेड प्रधानमन्त्री बन्ने विषय पनि अन्तरनिहित छ', श्रेष्ठले भने, 'वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय भएको छ।'

यसअघि सचिवालका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई उनैलाई प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको उनले बताए । 

यस्तै प्रवक्ता क्षेष्ठले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताए। यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको उनको भनाइ छ। 

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो  बनाएर अध्यादेश ल्याएपछि नेकपाभित्रको आन्तरिक विवाद चुलिएको थियो। प्रधानमन्त्री ओलीइतर पक्षको दबाबमा अध्यादेश फिर्ता भए पनि  विवाद भने साम्य भएको थिएन। 

अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए। 

गत बुधबार बसेको सचिवालय बैठक प्रधानमन्त्री ओली कोरोनाभाइरसको महामारी सकिएर अवस्था सामान्य बनेपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। 

प्रकाशित मिति: : 2020-05-02 20:41:35

प्रतिकृया दिनुहोस्