लकडाउनको मौका छोप्दै कृष्णपुर नगरपालिका– ४ बैलकुण्डी मुक्त कमैया शिविर नजिकै भू–माफियाले खनजोत गरेको जग्गा आज अतिक्रमणमुक्त गरिएको छ। खनजोत गरिएको वनको पाँच बिघा जग्गा अतिक्रमणमुक्त गरिएको हो।
खनजोत गरिएको जग्गामा बनाइएका संरचनासमेत हटाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए। 'गोरुको प्रयोग गरी वनको जग्गामा खनजोत गरिएको पाइएको छ', उनले भने, 'खनजोत गर्नेको खोजी गरिरहेका छौँ, खनजोत गरिएको जग्गामा बनाइएका झुपडी र लगाइएका बिरुवासमेत उखेलेर हटाएका छौँ ।' वर्षे खेती गर्न खनजोत गरिएको पाइएकाले खनजोत गर्ने व्यक्तिको पहिचान गरी प्रचलित वन ऐनअन्तर्गत कारवाही गरिने उनले बताए ।
गत वर्षसमेत सोही क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिएपछि वन कार्यालयको टोलीले अतिक्रमणमुक्त गरेको थियो । पटकपटक अतिक्रमणमा पर्दै आएको जग्गा जोगाउनका लागि वृक्षरोपण गरी तारवार गर्ने योजना वन कार्यालयले अघि सारेको छ ।
उक्त नगरपालिकाको वन क्षेत्र सुकुम्बासी र भूमिहीनका नाममा अतिक्रमणको चपेटामा पर्दै आएको छ । गत वर्ष मात्रै भेटघाटफाँटाको जग्गा सुकुम्बासीका नाममा अतिक्रमणमा परेको थियो । वन कार्यालयले केही स्थानको अतिक्रमण हटाउन सके पनि अझै अधिकांश जग्गा अतिक्रमणमुक्त हुन सकेको छैन ।
काठ तस्करीलगायतमा सामुदायिक वनकै कतिपय पदाधिकारीको संलग्नतासमेत हुने गरेको पाइएको छ । तस्करीको काठ नियन्त्रणमा लिन गएका वन सुरक्षाकर्मीमाथि समेत सामुदायिक वनकै पदाधिकारीले आक्रमणसमेत गरेका थिए ।
जिम्मेवार निकायबाटै वन क्षेत्रमा काठ, वन्यजन्तुको चोरी, सिकारी र वन क्षेत्रको जग्गा अतिक्रमण गरिनु चिन्ताको बिवषय भएको संरक्षणकर्मी दिलबहादुर देउवाले बताए । विगतका बर्षहरुमा समेत बैलकुण्डी लगायतका क्षेत्रमा अतिक्रमणकारीहरुले वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गर्ने र वन सुरक्षाकर्मी लगायतको टोली पुगेपछि भाग्ने गरेका उनले बताए ।