एसिया तथा युरोपका देशले पछिल्लो समय विश्वव्यापी कोरोना भाइरस संक्रमणको घटनालाई नियन्त्रणमा ल्याएको दावी गरिरहेको बेला उत्तर अमेरिकाको विकसित देश ब्राजिलमा समस्या चुलिँदै गइरहेको छ।
कोरोनाका कारण ब्राजिलमा मर्नेको संख्या बढ्दै जाँदा अस्थायी रूपमा निर्माण गरिएका सामुहिक चिहान पनि सानो हुन थालेका छन्। राष्ट्रपति जाइर बोल्सोनारोले आफ्नो देशमा कोभिड–१९ को जोखिमबाट घेरिएको कुरा अस्विकार गर्दै आइरहेका छन् तर ल्याटिन अमेरिकामा ब्राजिल कोरोनाको केन्द्रबिन्दु बन्न पुगेको छ।
यहाँ मर्नेको संख्या नै ६ हजार नाघिसकेको छ भने दिनहुँ नयाँ संक्रमित, त्यो पनि ठूलो संख्यामा भेटिन थालेका छन्।
राष्ट्रपति बोल्सोनारोले कोरोनाको संक्रमणले भन्दा पनि अर्थव्यवस्थाले ब्राजिललाई ठूलो असर पर्नेभन्दै ‘लकडाउन’ को विरोध गर्दै आइरहेका छन्। उनले एकपल्ट कोरोना भाइरसलाई ‘सामान्य ज्वरो’ को उपमा दिएका थिए। उनले यसका लागि ‘लकडाउन’ विरोधी जुलुसमा सहभागी भएर कोभिड–१९ को संक्रमण भएपनि केही नहुने सन्देश दिन खोकेको तस्वीर पोस्ट गरेका थिए।
तर, यति बेला एमाजोन राज्य नजिकै बसेको मानाउस शहरमा गत महिना खनिएको पाराक टारुमा चिहान गृह कोरोना भाइरसको संक्रमणबाट मर्नेहरूको लास गाड्न अपुग भएको छ। अस्पतालका चिकित्सकले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार सरकारी अधिकारीले दिएको तथ्यांकभन्दा पनि बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनीहरूले सरकारी अस्पतालमा आउने तथा चिकित्सकको निगरानी बाहिर पनि धेरै व्यक्तिको कोरोनाका कारण निधन भएको हुनसक्ने आशंका गरेका छन्।
लन्डनको इम्पेरियल कलेजले हालै गरेको अनुसन्धानमा ब्राजिलमा आउँदो साता कोरोना संक्रमितको संख्या अन्य देशको तुलनामा बढ्न सक्ने बताइएको छ।
युरोपमा छुट्टि बिताउन गएका ब्राजिलका धनीहरूको एउटा वर्गले देशभित्र कोरोना भित्र्याउने सम्भावना प्रबल छ र उनीहरूमार्फत यो रोग गरिब समूदायमा फैलिने सम्भावना उत्तिकै रहेको पनि बताइएको छ।
प्राप्त जानकारी अनुसार साओ पाउलो, रियो दि जेनेरो तथा फोर्टालेजामा पछिल्लो केही सातायता शहरी क्षेत्रबाट गरिब बस्तीमा कोरोनाको संक्रमण सरेको छ।