डिसेम्बर २०१९ मा चीनको वुहानमा अनौठो भाइरसको संक्रमण सुरु भयो। सिरानमा रातो किताब राखेर विश्वको पहिलो सैन्यशक्ति बन्ने सपना देखिरहेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लाग्यो होला २२ लाखभन्दा बढी संख्यामा रहेको विश्वको सबैभन्दा ठूलो जनमुक्ति अर्थात लालसेनाका अगाडि यस्तो जाबो भाइरस स्वतः पराजित हुनेछ। चीनसँग भएको १२ हजारदेखि १५ हजार किलोमिटर मारक क्षमताको डङ थेङ अर्थात डिएफ–४१ अन्तरमहाद्धिपीय ब्यालिस्टिक क्षेप्यास्त्र–आईसीबीएमका अगाडि भाइरस तुच्छ लागेको पनि हुन सक्छ। यो भाइरसलाई क्षेप्यास्त्र र जनमुक्ति सेनाले होइन चिकित्सकले मात्र हराउन सक्ने ज्ञान ढिलो भए पनि सीमा प्रकट भयो। तर, यो भाइरसको चरित्रबारे चिकित्सकहरू नै रनभुल्लमा परेको थाहा पाएपछि सी आत्तिए। त्यसपछि सुरु भयो कोभिड—१९ विरुद्घ युद्घ। परम्परागत युद्घमा अक्सर सूचना लुकाउने गरिन्छ, सीले पनि कोरोनाविरुद्घको युद्घमा सूचना लुकाए। परम्परागत होस् वा आधुनिक युद्घ, आफूतर्फको क्षतिलाई लुकाएर÷घटाएर प्रस्तुत गरिन्छ, सीले पनि कोभिड—१९ बाट संक्रमित र मृतकको संख्या कहिले लुकाए, कहिले घटाए। त्यसकारण अनेकौं सन्देहको बिजारोपण भयो।
वुहानस्थित भाइरोलोजी प्रतिष्ठानमा विभिन्न स्रोतबाट संकलित भाइरसमाथि अनुसन्धान÷अध्ययन हुँदै आएको छ। विगतमा अमेरिकाले समेत आर्थिक सहयोग गरेको यो प्रतिष्ठानमा १५ सयभन्दा बढी भाइरस संकलित भएको अनुमानका कारण यसलाई भाइरस बैंक पनि भन्न थालिएको छ। सार्स कोभ–२ भाइरस जनावरबाट मान्छेमा सरेको नभई असावधानी÷दुर्घटनावश यसै प्रतिष्ठानमा कार्यरत चिनियाँ इन्टर्न हुँदै सरेको र निजका ब्वाइफ्रेन्डमार्फत फैलिएको चर्चा अहिले अमेरिकी छापाहरूमा व्याप्त छ। यो आरोप आफ्नो ठाउँमा छ तर चीनले कोभिड उत्पत्तिको मूल कारण पहिल्याउन नसक्नु÷नचाहनु र सूचना लुकाउन खोज्नुले यो आरोपलाई बल पुग्दै गएको छ।