मर्ने बेलासम्म नेपाली सेनासँग दु:खेसाे थियाे, रानुदेवीकाे

नवीन अर्याल

काठमाडाैं

नेपाली सेनाले बजाउने एउटा धुन निकै चर्चित छ–‘नानाना ननानाना नानानानाना।’ 

कुनै उत्सव होस् वा विशेष कार्यक्रम। नेपाली सेनाले यो धुन बजाइहाल्छ। यो धुनमा यति मिठास् छ, जो कोही यो धुन सुन्ना साथ लट्ठ पर्ने गर्छन। वास्तवमा त्यो धुन नेपाली सेना आफैले तयार पारेको होइन। यो धुन लोकतान्त्रिक रेडियो नेपालकी पहिलो गायिका रानुदेवी अधिकारीको गीतको एउटा संगीतबाट झिकिएको हो। 

२०१७ सालमा राजा महेन्द्रले विपी कोइरालाको प्रजातान्त्रिक सरकार ‘कू’ गरेपछि नेपाली सेनाले यो धुन निर्वाध रूपमा प्रयोग गर्दै आइरहेको छ। त्यो पनि रानुदेवीलाई ‘क्रेडिट’ नदिई। रानुदेवी मर्नुअघिसम्म नेपाली सेनाले आफ्नो गीतको धुन स्विकृति नलिइकन प्रयोग गरेको भन्दै दुःख मनाउ गर्थिन।  

उनी देशमा प्रजातन्त्र ल्याउन प्रयोग गरिएको त्यो धुन पछि सेनाले आफ्नो बनाएर ‘लोकतन्त्रको हत्या’ गर्ने राजाको स्तुतिमा प्रयोग भएकोमा चित्त दु:खाउँथिन्। 

२००७ सालको प्रजातान्त्रिक आन्दोलनका लागि विराटनगरमा गणपति जुट मिलमा स्थापना भएको लोकतान्त्रिक रेडियो नेपालमा पहिलो गीत गाएकी रानुदेवीको ‘नेपाली अघि बढ्, हातमा क्रान्तिको झन्डा ’ भन्ने बोलको क्रान्तिकारी गीतको धुन हो, यो। 

राणा शाषनविरूद्ध जनतालाई सुसूचित गर्ने उद्देश्यका साथ २००७ साल कार्तिक २० गते तारणीप्रसाद कोइरालाको अगुवाईमा लोकतान्त्रिक रेडियो नेपाल स्थापना भएको थियो। जसमा तारणी स्वयम् नेपाली भाषमा, भारतका चर्चित साहित्यकार तथा समाजवादी नेता फणिश्वरनाथ रेणुले हिन्दी तथा विजयालक्ष्मी कोइरालाले अंग्रेजीमा समाचार वाचन गर्थे। १६ वर्षीय रानुदेवीले गीत गाउँथिन्। 

०७ सालको क्रान्ति सफल भएपछि तारणीको अगुवाईमै रानुदेवीले कोलकाताको हिन्दुस्तान रेकर्डिङ स्टुडियोमा यो सहित ६ वटा गीत रेकर्ड गरेकी थिइन। त्यति बेला नेपालमा मात्र होइन, भारतमा पनि आर्केस्ट्रा उपलब्ध थिएन त्यसैले कोलकातामा रहेको ब्यान्डबाजाको एउटा टोलीलाई बोलाएर गीतको धुन रेकर्ड गरिएको थियो 

‘आजभोलि कपिराइटको जमाना छ। तर नेपाली सेना निर्धक्क उहाँको गीतको धुन बजाइरहेको छ,’ रानुदेवीको जीवनीमा आधारित किताबका लेखक शंकर खरेल भन्छन्। ‘यो संगीतको विषयमा नेपाली सेनाले कहिल्यै उहाँलाई ‘क्रेडिट’ दिएन। उहाँलाई यो कुरामा धेरै चित्त दुःखेको थियो।’  रानुदेवीकाे बिहीबार राती ८६ वर्षकाे उमेरमा निधन भएकाे थियाे।

याे पनि:

फुलनदेवीले किनेकी थिइन्, रानुदेवीको बनारसको घर

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

प्रकाशित मिति: : 2020-05-01 19:54:39

प्रतिकृया दिनुहोस्