लकडाउन खुकुलो पार्न समितिले दियाे सरकारलाई सुझाव

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउन खुकुलो पार्न सरकारलाई सुझाव दिएको छ। 

समितिले पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै लैजान सल्लाह दिएको हो।

लकडाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। 


कोरोना भाइरसको परीक्षण दायरा विस्तार गर्न सरकारलाई निर्देशन दिएको निर्देशन दिइएको समिति सभापति परशुराम मेघी गुरुङले बताए। 

‘समितिले परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तिमा एकजनाको नमुना छनोट गरी परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ,’ उनले भने,‘ स्वास्थ्य सामग्रीको भण्डारलाई प्राथमिकता दिएर सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिएका छौं।’

यस्तै समितिले स्वास्थ्य सामग्रीको भण्डारलाई प्राथमिकता दिएर सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। 

समितिले बजारमा कृत्रिम अभाव गरी कलोबजारी गर्ने र बढी मूल्य लिने प्रवृतिलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गरी कानून बमोजिम कारवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ। 


यस्तै लक डाउनमा परेका अति विपन्न, न्यून आय भएका, दैनिक ज्यालादारीमा काम गरी जिविकोपार्जन गर्दै आएका मजदुर र किसानहरुको समस्यालाई सम्बोधन गर्न उपयुक्त राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको सभापति गुरुङले बताए।
 

प्रकाशित मिति: : 2020-05-01 18:02:32

प्रतिकृया दिनुहोस्