ओली नरम हुनुभएको छ, अरू नेता शान्त हुनुहोस्

राजनीतिशास्त्रका पिता मानिने एरिष्टोटलले मुख्यतः तीन प्रकारका शासन ब्यवस्थाको चर्चा गरेका छन्

(१) एकबाट शासन (राजतन्त्र), (२) केहीबाट शासन (परिवार तन्त्र) र (३) धेरै वा सबैबाट शासन (प्रजातन्त्र)। सबै प्रकारमा गुण र दोषका सीमा छन् तर यी तीन प्रकार मध्ये समकालिन राजनीतिमा प्रजातन्त्रलाई उत्तम मानिन्छ।

हालका केही वर्षयता आएर प्रजातन्त्रलाई अझ परिमार्जित रूपमा लोकतन्त्र भनिन्छ। संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेको छ।

२०७२ सालको संविधानको प्रावधानुसार लोकतन्त्रको सुरूवातपछि २०७४ सालको आम निर्वाचनमा बामपन्थी विचार राख्ने (तात्कालिन नेकपा एमाले र नेकपा मावोवादीको एकीकरण साथ बनेको) दल नेकपाको सरकार बनेपछि यस सरकारले २ वर्षको यात्रा तय गरिसकेको छ। यो २ वर्षको अवधिमा नेपाली राजनीतिमा धेरै उतार चढाव आएका छन् जुनकुराको साक्षी नेपाली जनता छन्।

आम निर्वाचन अगावै ‘आगामी सरकारको नेतृत्वकर्ता केपी शर्मा ओली हुन्’ भनेर जनतासँग भोट मागिएको थियो। भारतले नाकाबन्दी गरेको बेला चट्टानी अडानसाथ नेपालको शीर निहुँरिन नदिइ नेपाललाई विश्वसामू स्थापित गराएका तिनै नेता केपी ओलीको स्पष्ट अडान र दिशानिर्देश गर्नसक्ने क्षमताले नेकपाको लहर चलेको जोकोहीलाई थाहा छ। तर यो मुलुकको विडम्बना नै मान्नुपर्छ कि, आम निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको ओली नेतृत्वको दललाई तुरून्त सरकार निर्माण गर्ने बाटो प्रसस्त नगरि केही दिन भए पनि सरकारमा बसेर राज्य श्रोतको परिचालन गर्ने दुर्योधन प्रवृत्ति यो सरकार निर्माण अगावैबाट सुरू भएको थियो। जुन समय नेपाली राजनीतिको तीन महिनाको असमञ्जसको काल थियो।

ओलीले सरकारको नेतृत्व सम्हालेपछि सानो र चुस्त सरकारको कल्पना र प्रयोगको थालनी गरेका थिए। तर झिजिमाटी जोडेर बनाइएको दलको एकीकरणमा भागको दलालीले सुरूबाटै सरकारको काममा खण्डन मण्डन आफ्नैबाट हुन थालेको हो, तुषको पीडाबाट सरकार सुरूकै दिनदेखि डसिन थाल्यो।

प्रत्येक स-साना कुरामा पनि भागिवालाको अर्डर पर्खनुपर्ने र जस अरूले लिने र अपजसको भाग जति सरकार नेतृत्वले थाप्लो थापिदिनुपर्ने भएपछि सरकारले कामको रफ्तार पकडनुको सट्टा आन्तरिक कलहको व्यवस्थापनमा नै लामो समय लगाउनु परेको जो कोहीलाई थाहा छ।

यसबीचमा पनि बिभिन्न नयाँ कानुनको निर्माण, प्रादेशिक सरकारको गठन, स्थानीय सरकारको गठन, कर्मचारीको ब्यवस्थापन, विदेश नीतिमा सन्तुलन, अन्तराष्ट्रिय लगानी सम्मेलन, चीनका राष्ट्र्पतिको नेपाल भ्रमणको व्यवस्था, भ्रष्ट्राचारको अन्त्यको प्रयास स्वरूप बिभिन्न कामको थालनी, राष्ट्रिय महत्वका आयोजनाको योजना  डिपिआर निर्माण र सञ्चालन, पेट्रेलियम पाइपलाइनको निर्माण र सञ्चालन, सुरूङ्ग मार्ग, पूर्व पश्चिम रेलमार्गको डिपिआर, हवाइ मैदानको स्तरोन्नती, अन्तराष्ट्रिय हवाइ मैदानको योजना र परियोजना सञ्चालन, १५०० किलोमिटर बाटोको कालोपत्र सम्पन्न, विद्युतमा आत्मनिर्भरता र बढी उत्पादनको बिक्रीको व्यवस्था, काठमाडौंसहित शहरी क्षेत्रका मार्गको स्तरोन्नती, नेपाल भ्रमण वर्षको तयारी र सञ्चालन, आदि जस्ता धेरै काम भएका छन्।

तर, त्यसबीचमा नेकपाको एकीकरणमा भएको तानातान र आफ्ना मान्छेलाई पद प्रतिष्ठा दिन गरिने दलाली, देशी विदेशी तत्वले सरकारको काममा विरोध उत्पन्न गर्ने मतिसाथ ल्याएका षडयन्त्रपूर्ण कुरामा दलका जिम्मेवार स्थान ओगटेका नेताको फुट, सरकारका कामलाई बचाउनुको सट्टा ती विषयलाई आफ्नो स्वार्थ र पक्षधरता पुरा गराउने माध्यमको रूपमा गरिएको प्रयोगले सरकारका काममा केही ब्रेक लगायो। त्यसैबिच प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आएको गम्भीर समस्यालाई मानवीय संवेदनाबिहिन रूपबाट खेद्ने कार्यको पटापेक्ष नेपाली राजनीतिको घिनौना पक्ष रह्यो। 

विगतको कालो धोइधाइ गरी, गराइ अब त्यसो नगर्ने सर्तमा आफ्नै साख्खे भाइ बनाउँछु भन्ने ठानी दलको छाताभित्र ल्याइ एकीकरणको लुगा आफैंले लगाइदिएपछि घात हुन्छ भन्ने कल्पना नगर्नुलाई गल्ती ठान्ने हो भने केपी ओलीको ठूलै गल्ती थियो पार्टी एकीकरणको काम।

२०४२ सालदेखि एकीकरणको मितिसम्ममा बिभिन्न दल र नेतासँग मिल्दै र टुटदै आएको तीनको इतिहासलाई पर्गेलेर विगतको पर पीडक चरित्रको विश्लेषण गर्न तत्कालमा धेरैले नसुझाएका पनि हैनन् ओलीलाई। तर, नेपालमा विगत लामो समयदेखि बामपन्थीलाई भोट दिने जनताको अधिक संख्या भएको र नेपाली राजनीतिमा भएका बहु वामदलको उपस्थितिले जनताको मत बाँडिएर आकार लिन नसकेको पीडाबाट ग्रस्त उनले साथीको भनाइलाई सतर्कता साथ खारेज गरेर पार्टी एकीकरणको निर्णय लिएका थिए। पाका राजनीतिज्ञले लिएको त्यस निर्णयको बेला ताली पड्काउनेको लस्कर लामै थियो।

बिगत बितण्डाको यादभन्दा पनि राष्ट्र बनाउने हुटहुटीलाई उनले बढी महत्व दिएका थिए। राष्ट्र सबैको हो यसको मुहार फेर्दा सबैको फेरिन्छ त्यसैले जस्तासुकै नकारात्मकता पनि राष्ट्र समृद्घिको अगाडि नतमस्तक हुन्छन् भन्ने उनको सोचमा खोट थिएन। राजनीतिमा उतार चढावयुक्त यात्राको तय गरिसकेका, सफलताको उद्दात बेला आफ्नो राजनीतिको बेलुन कटुवालको काँटीले छुँदा मात्रले फुटेको थाहा पाएका, आगामी दिनमा सच्चिने कसम खाएकाबाट बार बार धोका हुँदैन होला भनेर आशा गर्नु गलत हुँदैन भन्ने नै उनको ठम्याई थियो। 

हिजो मावोवादीको नाममा देशभर वितण्डा मच्चाएर नेपालका दूरदराजका गाउँलाई तवाहा तवाहा बनाउँदै अमानवीय रूपबाट जनताको विनास गर्दा त्यो राजनीति होइन त्यस्तो बाटो छाड्नुपर्छ भनेर खुट्टा नकमाई त्यसको प्रतिरोध ओलीले नै गरेका थिए।

समय समयमा माओ विचारधारा, माओवाद, जनयुद्व, जनवाद आदि जस्ता पदावली फेर्दै राज्य आतंक फैलाएर जनतालाई डरमा राखेपछि आफ्नो क्षणिक स्वार्थ पूरा गर्न सकिन्छ भनेर ल्याएका क्रमभंगताका स्टण्टले देशलाई उँभो लगाउँदैन भनेर ओलीले प्रष्ट भनेका थिए।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनका सक्कली अनुहार जनताले देख्न त थाले फेरि पनि हिजोको धङधङीको रहलपहलमा अरूलाई थर्काइ, हप्काइ वा घुक्र्याई आफ्ना ब्यक्तिगत मनोकांक्षा पुरा गर्न र अमिरी जीवन जिउन तिनले गर्न थालेको राज्यलुट र जनताको स्वतन्त्रमाथिको आक्रमणमा पनि ओलीले औँला ठड्याइरहे।

२०६४ को आम चुनावमा डरको साम्राज्य खडागरि लिएको जनताको आशाको मतलाई तिनले ठाउँ कुठाउँ प्रयोग गर्न गरेको प्रयत्नलाई कहिले प्रतिरोधले, कहिले यत्नसाथ किनार लगाइ त्यस आतंकबाट देश जनतालाई बचाउन ओलीले गरेको प्रयत्नबारे समकालिन राजनीतिका खेलाडी जो कोहीलाई थाहा छ।

माओवादी दल (कुनै समयमा प्रचण्ड भनिएको पथले) ले २०७० को आम निर्वाचनमा हावा खाएर आफ्नो आकार तर्फको बाटो देखिसकेपछि अगाडिको बाटोबाट तर्सिएका, र बिगतमा आफूले चलाएका वितण्डाको सिकार भएकाले लिनसक्ने हिसाब किताबको आतंक दिमागमा पसेपछि तर्सिएर सुरक्षा सहितको अवतरण खोजेको थाहा पाएपछि नै ओलीले एकीकरणको सबै चाँजोपाँजो मिलाएका थिए। नेकपा निर्माणको सदासयता पूर्ण हात बढाएका थिए।

तर ओली नेतृत्वमा सरकार बनेको प्रथम घण्टाबाटै ओलीको सदासयपूर्ण भावनामा चोट पुर्‍याउने काम भयो। आफ्नै दल भित्रबाट ओलीको घुँडामा टुकटुक हिर्काउन थालियो। समयक्रमसँगै ओलीको विश्वासलाई दिनदिनै धोका दिन थालियो। यद्यपि, जनताको अपार माया र अस्वस्थ शरीरको बावजुत पनि  आफूले गरेको परिश्रमको परिणामलाई जोगाउनु उनको दायीत्व बन्यो। उनले सबै अफ्ठ्यारालाई पैताला मुनी दवाएर कहिले अलि कडा निर्णय साथ र कहिले सम्झौता गर्दै अगाडि बढेको देख्ने निकट विगत साक्षी छ।

यसैबीच उनको स्वास्थ्यमा ठूलो समस्या आयो। एपेण्डीसाइट फुटेर पेटमा यत्रतत्र छरियो। तत्कालको उपचारले उनी वालवाल बाँचे। तर पनि काममा ठूलो बाधा आयो। त्यहीँ समयमा पनि उनलाई खेद्न छाडिएन। बरू त्यस समयलाई मौकाको रुपमा लिएका कथाको पटाक्षेप नेपाली जनताले नजिकबाट देख्नुपर्‍यो। ईच्छाशक्तिले रोगसँग लडदै गर्दाको त्यहीँ समयमा १२ वर्ष अगाडि फेरेको किड्नीले उनलाई साथ दिन छाड्यो।

दलभित्रको किचलो बिच पुनः उनी अस्पताल गए। केही दिनको अस्पताल बसाइपछि काममा फिरेका उनले कामको रफ्तार समाउँदा नसमाउँदा विश्वव्यापी आएको कोरोनाको कहरले उनको सबै ध्यान जनताको जिउज्यान बचाउन पट्टि लाग्यो। त्यस बीचमा पनि भए नभएका कथा बुनेर योजनाबद्घ रुपमा ओलीलाई खेद्न लागेका षडयन्त्रकारीका हतियार केही पित समाचारका कथासँगै स्थापित बिरोधी र दलभित्रका क्षुदावादीहरू समेत गाँसिन पुगे। यसैबीच राष्ट्र्पतिबाट अध्यादेशको घोषणा भयो।

एकीकृत र अभिभाज्य देशलाई संविधानको प्रावधानबाटै धुजाधुजा पार्न नपाएर दशगजामा बसेर नेपाल तर्फ ढुङ्गा हान्ने र देशलाई अपठ्यारोमा पारी नेपाली जनतालाई खोरमा थुनेर कुट्न लागिपरेकाको हुलमा रहेका तर दलको जञ्जीरबाट फुत्कन न्यायको न्यानो घाम खोजिरहेकाको दिनदिनको आग्रहलाई सम्बोधन गर्न र सरकारका दैनन्दिनका काममा परेका अपठ्यारा फुकाउन बिरोधी दलका नेताले नदिएको न्यूनतम सहयोगको बारे दलका नेतागणसँग सविस्तार गरिएको वार्ताको परिणाम पछि नै अध्यादेश आएको थियो। तर अध्यादेशको घोषणा साथ पत्रिकाले उचालेको बजारमा पसि आफ्नै भनिनेहरूलेसमेत खेद्न थाले। हिजो सल्लाहा गरेकाहरू नै पछि सरेर उल्टो आरोप लगाई शत्रु साध्न लागेपछि समयलाई आँकलन गरि अध्यादेश खारेजी गर्न प्रधानमन्त्री ओली अग्रसर भए।

तत्काल अध्यादेश खारेजी भयो। यद्यपि, उनको बिरोध दलभित्रैबाट जारी छ। समयको पारख गर्न नसकेको र अरू पनि कतिपय कार्य प्रकृयामा केही गल्ती भएका भए सच्याएर जान तयार भएको कुरा उनले दलभित्रका नेता गणलाई भनिरहेका खबर आइरहेछन्। तर पनि खेद्नेहरूले छाडेका छैनन्। फलाम तातेकै बेला कुटने हो भने झैँ गरि कुदाउ कार्य जारी छ।

यो लेख लेख्दासम्म ओली कुदाउ अभियान रोकिएको छैन। फिर्ता भइसकेको अध्यादेशको निहुँमा ओलीलाई कुदाएर उनको राजनीतिको निमियानेट गराउन लागि पर्नेहरू अझै कराइ रहेका छन्।

घटनाक्रमले भनिरहेछ कि, नेपालीको आशा विश्वासमा निकट भविष्यमा तुषारापात हुन सक्नेछ। जुन दलको नेताको दृढता र इमानमा विश्वास गरेर नेपाली जनताले नेकपालाई भारी मत दिए तीनै नेतालाई दलबाट लखेट्न खोजिँदैछ। जनतालाई धोका दिने देखिँदैछ। हिजोका गल्तिबाट पाठ सिक्दै वर्तमानको कर्म र भविष्यको बाटो तय गर्न नेकपा भनिने दल चुक्ने सम्भावना बढ्दैछ। हुनत, नेकपामा ‘भैँसेपाटी’ खेमा तयार गरि हात धोएर लागिपरेका नेताले ओलीले पेलेको, मेरो मान्छे अमुक ‘हरि वा कृष्णे’ लाई जागिर नदिएर ओलीले आफ्ना (ओलीका भाइ, छोरा, काका, भतिजा, मामा, साला, ज्वाईँ आदिलाई ओलीले वास्ता नगर्ने देखेकाले) गुटकालाई जागिर दिएको, मेरो गुटको मान्छे चोरेको, आदि इत्यादि भन्दै न्याय नपाएको दुहाइ दिएर ‘ओली खेद अभियान’ लाई ठिक ठहर्‍याउन भरमगदुर जोड गर्लान्। तर ओलीलाई खेदि सकेपछि आउने अनिष्टले तिनलाई पनि माफ गर्ने छैन। आगतको समय तीनको लागि अनिष्ठकारी हुने अवश्यंभावी छ। पूर्व सोभियत संघमा आजभन्दा ३० वर्षअघि भएको कु को परिणामको नियति समयले तीनलाई पनि भोग्न बाध्य गराउन सक्नेछ।

सोभियत संघमा ७० वर्ष अगाडिदेखि कायम रहेको समाजबादी देशको कम्युनिष्ट पार्टीको सत्ता हत्याउन कम्युनिष्ट पार्टीकै नेता-पार्टी उपाध्यक्ष गेन्नडी एनाएभको नेतृत्वमा अगष्ट १९ सन् १९९१ का दिन सोभियत नेतृत्व बिरूद्घ कु भयो। त्यो कार्यलाई समर्थन गर्नेहरू स्टेट कमिटि अन द स्टेट अफ इमर्जेन्सिका ९ जना मध्येका ८ जना सदस्यहरु थिए। सरकार, पार्टी गुप्तचर निकाय (केजिवि) का वरिष्ठतम ब्यक्तिको समेत संलग्नतामा भएको त्यो कू तीन दिनभन्दा बढी टिकेन। तीन दिन पछि कू गर्नेहरु मध्ये सबैजसो पक्राउ परे। पक्राउ पर्नु अगावै कू पछि गृहमन्त्री बनेका बोरिस पुगोले आफैंलाई गोलीहानी हत्या गरे। बाँकी पक्राउ परि जेल चलान भए। तीन वर्ष पछि कू को नेतृत्व गर्ने एनाएभले बोरिसएल्तसिनसँग माफको भिखको दान पाएर जेल मुक्त भए। तत्कालिन राष्ट्रपति मिखायल गुर्वाचोब विरूद्घको उक्त कू ले सोभियत संघको विभाजन, महान अक्टुबस्र क्रान्तिले स्थापित गरेको समाजवादी सत्ताको अन्त्य गरेर यल्तसिन र पुटिनको उदय गरायो। त्यसरि सोभियत संघको पतन भएपछि फेरि कम्युनिष्ट सत्ता त्यहाँ केवल इतिहासको विषय मात्र हुन पुगेको छ।

देवप्रकाश त्रिपाठी (घटना र विचार, अनलाइन) का भनाइलाई सापट लिने हो भने ‘मृत्यु निकट बोध गर्ने मानिसमा कीर्ति राख्ने चाहना घनिभूत हुने विश्वास गरिन्छ र, केपी शर्मा ओली वर्तमानका एक मात्र त्यस्ता  नेता हुन् जसले मृत्युलाई निकटबाट महसुस गरेका छन्, त्यसैले उनी बाँकी जीवनलाई राष्ट्रका नाममा सदुपयोग गर्न चाहन्छन् भन्ने विश्वास गर्न सकिन्छ।’ यो भनाई सान्दर्भिक छ। हुनतः केपी ओली पनि अरू झैँ सांसारिक भएकाले उनका पनि केही विषेशता अरू आमका जस्ता नहुने हैनन्। उनी पनि काम गर्दा कहीँ कतै चिप्लिन सक्छन् तर उनको नियतमा खोट देखिँदैन। प्रामाणीत नभएका र हुन नसक्ने कुरालाई उचालेर दुनियाँलाई दिग्भ्रमित बनाउने कर्ममा लाग्नेले भनिदिन जति सजिलो छ प्रमाणीत गरेर देखाउन सकिन्नँ।

नेपालका जनताले कम्युनिष्टमाथि माया गरेका छन् त्यसको दुरूपयोग गरे जनताले माफी गर्दैनन्। त्यसैले बेलामा बुद्घिको आवश्यक छ। नेताज्यूहरू बेलामा बुद्घि पुर्‍याउनुहोस्। यो सोभियत संघ होइन नेपाल हो भनेर नहौसनहोस्।

विश्वका कम्युनिष्टलाई खतम गर्न षडयन्त्रकारीहरु बिभिन्न नाम, रुप र कर्ममा लागिपरेका छन्। बुझ्नुहोस्। बाबुराम वा मधेशी दलले बोकेको पुल्ठोको न्यानो वा बाम बिरोधीले पोखेका कुण्ठामा मख्ख नपर्नुस्। विगतमा एक पटक गल्ती भइसकेको छ। एकपटक गल्ति गर्नेलाई जो कोहीले सच्चीने मौका दिनसक्छ, दिन्छ । तर सधैं गल्ती गरेर अपराध गर्नेले न मौकाको भिख माग्न सक्छ, नपाउँछ नै।

त्यसैले समयलाई चिन्नोहोस्, दायीत्वबोध गर्नुस, प्रधानमन्त्री ओली नरम भएको देखिन्छ, तपाईँहरू शान्त हुनुहोस्। नकि तपाईँहरूको आँखा भदौमा फुटोस्। देश र नेकपाको माया गर्नेले तपाईँहरूको कर्मबारे राम भन्न सकिन्छ। बाँकि यहाँहरुकै विवेकमा । 

अस्तु।

लेखक राजनीतिक विश्लेषक हुन् ।

प्रकाशित मिति: : 2020-05-01 17:04:00

प्रतिकृया दिनुहोस्