लकडाउनका कारण जानकी जन्मोत्सव पूजापाठमा सीमित

 कोभिड–१९को जोखिमलाई ध्यान दिदैँ यहाँस्थित जानकी मन्दिरमा यसपटक माता जानकीको जन्मोत्सव जन्म संस्कारको विधि र पूजापाठमा मात्र सीमित गरिएको छ। जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उत्सवका कार्यक्रम स्थगन गरी यसपटक मन्दिरमा जन्म संस्कार विधि एवं पूजापाठ गरी मनाइँदै छ।

जन्मोत्सवका दिन  जानकी मन्दिरमा नौ दिनसम्म बधाइ गीत, प्रवचन, दूधमति स्नान, रामायण प्रदर्शन, जानकी जन्मको विवेचना, छठिहार, गर्भगृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर (जन्मका बेला गाइने गीत) गङ्गा आरती, दीपोत्सवलगायतका कार्यक्रममा देश–विदेशका हजाराैँ साधुसन्त र श्रद्धालुको सहभागितामा हर्षोल्लासपूर्वक मनाइने चलन रहेकामा यसपटक कलश स्थापना गरी दैनिक पूजापाठ मात्र भइरहेको छ।

 जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको जनाइएको छ। त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ।यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन, सम्पूर्ण मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेकोमा यसपटक सबै कार्यक्रम स्थगन गरिएको छ।

जानकी  मिथिलाको माटोको उपज र उपलब्धि भएकाले उहाँप्रति सबै मिथिलावासी नतमस्तक हुन्छन्, यस अवसरमा हार्दिक धार्मिक भावनाको स्पष्ट प्रकटीकरण देखिन्छन्। उनी महिलोचित गुणबाट परिपूर्ण भएकाले आज पनि मिथिलाञ्चलका महिला उनको पदचिह्नको अनुशरण गरेर आफूलाई धन्य ठान्दछन्। यही भावभूमिमा मिथिला क्षेत्रमा एउटा भनाइ छ– गौरी सन भाग आओर सीता सन सोहाग।

अर्थात् विवाहिता स्त्रीको भाग्य गौरीजस्तो र सौभाग्य जानकीजस्तो हुनु पर्दछ।  विवाहित स्त्रीले जानकी नवमीका दिन व्रत गर्ने चलन पनि छ। धार्मिक ग्रन्थहरूमा  भूमिबाट उत्पन्न भएका कारण जानकीलाई अन्नपूर्णा स्वरूपा भनिएको छ। जानकीको व्रतले घरमा सुख, समृद्धि, अन्न र वैभव प्राप्ति, धैर्य, विवेक, ज्ञान, ममता, समर्पण उत्पन्न हुने मान्यता रहेको छ।
            
जानकीलाई लक्ष्मीको अवतार पनि मानिएको छ। त्यसैले उहाँकै अनुकम्पाले मिथिलावासीहरू सुखी जीवन एवं सम्पन्न जीवन सृष्टिको शुरूदेखि नै व्यतित गर्दै आएको विश्वास पाइन्छ। जनक, जानकी, मिथिला र जनकपुरधाम धेरै ठाउँमा एकाकार र पर्यायवाची रहेको छ, त्यसैले जनकपुरधामको पहिचान जानकी र मिथिलाबाट भएको छ।

उनको  मैथिली, सीता, जानकी  र सिया पर्यायवाची नामहरू रहेका छन्। उहाँले लोककल्याणका लागि आफ्नो जीवनको आहुति आनन्दपूर्वक दिएकी थिइन्। अतः पण्डित सतानन्दले यसरी लेखेका छन्:

जानकी स्वयं वेदमाता, जानकी त्रिकोणात्मिका
जानकी विन्दु रूपाच, सर्वविद्या समन्विता

अर्थात् जानकीमै सबै वेद, शास्त्र पुराण रहेको छ र उहाँ मूल प्रकृतिरूपी महाशक्ति हुनुहुन्छ। किंवन्तीअनुसार अनिकालबाट मुक्तिका लागि  राजर्षि जनकले  पुनौरामा हलेष्टि यज्ञ गर्दा जानकीको जन्म भएको थियो। राष्ट्र कवि माधवप्रसाद घिमिरेले जानकीको जन्म वर्णन गर्दै यसरी लेखेका छन्:

जन्मिन यहाँ जानकी
मञ्जरीजस्तै धानकी
माण्डवी, कीर्ति, उर्मिला
बहिनी बाल चञ्चला
...........................

लावण्यमयी जानकी
गहुँ र गोरी जानकी
.......................

अर्पित भइन् राममा
यही हो मेरो मिथिला
धरती शस्यश्यामला

शास्त्रमा सीता शब्दको तात्विक महत्वका सन्दर्भमा सी मा रहेको इकार प्रपञ्च बीज मानिएको छ, त्यही नै माया र विद्यास्वरूप हो। स कार सत्यको नाम हो, यसैबाट अमृत प्राप्ति र सोम हुन्। माताको दोस्रो स्वरूप नारी हो, जो पृथ्वीबाट हलोको क्रममा उत्पन्न भइन्। उनलाई इच्छा, क्रिया, सोम, सूर्य र आगोको शक्ति पनि मानिएको छ।

जानकीको सौन्दर्य अलौकिक र अवर्णनीय थियो। कवि तुलसीदासका अनुसार जानकीको सौन्दर्य मूर्तिमान साक्षात् शोभालाई पनि माथ गर्ने खालको थियो, मर्यादा पुरूषोत्तम रामको चित्त पनि चञ्चल भएको थियो जब उनले अपूर्व सुन्दरी जानकीलाई सर्वप्रथम देखेका थिए।

यसरी मिथिलाको माटोमा जानकीले जन्म लिनु नै एउटा स्वर्गीय वरदानभन्दा कम होइन। त्यसैले मिथिलाको संस्कृतिमा उनको जीवन चरित्र वन्दनीय, स्मरणीय र पूजनीय रहेको छ।

प्रकाशित मिति: : 2020-05-01 12:44:48

प्रतिकृया दिनुहोस्