इस्पातका मान्छेहरू!

 सन्दर्भ: मइ दिवस 

खासमा कहिल्यै सुत्दैनन्

तर पनि सबेरै उठ्छन्

र, बिउझाउँछन् सुनसान सुतेको सिंगो सहर।

 

इस्पातका मान्छेहरू!

कोही रेल चालकको कुर्शीमा छन्

र, कोही रेल गार्ड छन्

सुतेको सहरमा ब्युँझेका

आफूजस्तै इस्पातका मान्छेहरुको

उनको गन्तब्यमा पुर्‍याउन

झिसमिसे  अघिनै रेल ल्याएर आइपुग्छन्।

 

इस्पातका मान्छेहरू!

कोही बस चालकको सिटमा छन्

र , कोही उनको नियमित यात्रु छन्

एउटा इस्पातको मान्छे

अर्को इस्पातको मान्छको

गन्तब्यको सारथि भएको छ।

 

इस्पातका मान्छेहरू!

कसैका लागि मैला धैलाहरू

सुकिलाहरू सहर नपस्दै

शहर सुग्घर बनाउँछन्,

सहरको सुकिलो सभ्यता

यीनको पसिनाले धोइएको हो,

सहरको रफ्तार गतिशिलता

यीनको मस्तिस्कको रफ्तार हो।

 

ओ ! इस्पातका मान्छेहरू!

रेल तिम्रै हाडहरूले बनेको छ

र, पहाडजत्रा भवन भएको

यो शहर तिम्रै मुटुले धड्केको छ

कारखाना तिम्रै रगतमा जीवित छ

 

ओ ! फलामका मान्छे !

तिमी थाकेका छैनौ र कहिलै थाक्दैनौं,

तिम्रै पहरामा यो समाज ढुक्कले निदाएको छ।

तिम्रा हातहरूलाई नमन

तिम्रो मस्तिस्कलाई नमन

ओ इस्पात!

तिम्रो मुटु र त्यो भित्रको मनलाइ नमन।

 

असिमित गन्तब्य तर्फ

प्रत्येक बिहान र साँझ

लमक लमक निरन्तर लम्कने

तिम्रा सुन्दर पैतालाहरूलाई चुम्बन।

(आवरण चित्र: पेन्टर कृष्ण, सिड्नि)

प्रकाशित मिति: : 2020-05-01 10:55:12

प्रतिकृया दिनुहोस्