अमेरिकाकाे मिसिगन राज्यमा लकडाउनविरुद्ध गोलीगठ्ठासहित प्रदर्शन

बिएल संवाददाता

न्युयाेर्क

अमेरिका कोरोना भाइरस (काेभिड १९)को संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन खुलाउन माग गर्दै प्रदर्शनहरु भइरहेका छन्।

बिहीबार मिसिगन राज्यमा लकडाउनको विपक्षमा रहेको प्रदर्शनकारीहरु गोलीगठ्ठासहित प्रदर्शनमा उत्रिएका हुन्।

मिसिगन युनाइटेड फर लिबर्टीको आयोजनामा बन्दुकसहित प्रदर्शनमा उत्रिएका उनीहरु मिसिगनको राजधानीमा रहेको राज्यको संसद प्रवेश गरेका थिए। प्रदर्शनकारीले भवनमा प्रवेश गर्न पाउनु पर्ने भन्दै हुलहुज्जत गरेपछि प्रहरीले केहीको ज्वरो नापेर प्रवेश अनुमति दिएका थिए। प्रदर्शनकारी होहल्ला गर्दै भवनमा प्रवेश गर्दा राज्यका सांसदहरु छलफलमा थिए।

मिसिगनकी गभर्नर ग्रेट्चन व्हिटमरले मे १५ सम्मका लागि राज्यमा लकडाउन लागु गरेकी छन्। प्रदर्शनकारीहरुले राज्यको निर्देशन विपरित मे १ देखि व्यवसाय सञ्चालन गर्न अपिल गरेका छन्।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य मध्यमा पर्छ मिसिगन। त्यहाँ अहिलेसम्म कोभिड १९ बाट ३७ सय ८८ जना भन्दा बढीको मृत्यु भइरहेको छ। राज्यमा ४१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। 

अमेरिकामा २२ सयभन्दा धेरैको ज्यान गएको छ भने साढे ३० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन्। ज्यान गुमाउने र संक्रमित हुनेको संख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ। त्यहाँ ज्यान गुमाउनेको संख्या साढे ६३ हजार नाघेको छ। यस्तै १० लाख ९५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-05-01 08:19:43

प्रतिकृया दिनुहोस्