नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगियाे, अर्को बैठक २० गते

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको बुधबार बसेको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ। बैठकमा पार्टीका आन्तरिक समीक्षा, सरकारको सुध्रिढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएको थियो।

तर कुनै निष्कर्षमा नपुगेको र २० गते पुनः बस्नेगरी आजका लागि बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूले मंगलबार सचिवालय बैठक बस्ने जानकारी दिएका थिए। तर बैठक बस्नेबारे कुनै तयारी नभएपछि आज सारिएको थियाे। 

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल समूह आक्रोशित बनेको छ। 

अध्यक्ष ओलीको विकल्प खोज्‍न अध्यक्ष प्रचण्ड, नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएका छन्। उनीहरु हस्ताक्षर संकलन समेत थाल्ने भएका छन्।

यता ओली स्थायी समितिलाई जसरी पनि टार्ने रणनीतिमा छन्। ओली पक्षपनि आफ्नाे प्रभुत्व देखान बुधबारदेखि हस्ताक्षर अभियानमा जुटेका छन्। याेसँगै ओलीले मिलेर अघि बढ्ने प्रस्तावसहित प्रचण्ड र नेपाल दुवै समूहलाई फर्काउने प्रयास गरेका थिए।

 त्यसका लागि उनले पटकपटक छलफल पनि गरेका थिए। यद्यपी सहमति जुट्न सकेकाे छैन।

प्रकाशित मिति: : 2020-04-29 21:16:03

प्रतिकृया दिनुहोस्