विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण रोक्न सरकारले चैत ११ गतदेखि लकडाउन गरेको छ।
नेपालमा कोरोना सक्रमण फैलन नदिन गरेको लकडाउनले दैनिक ज्यालादारी काम गरेर परिवार पाल्ने समुदाय यतिबेला दोहोरो पीडामा छ। एकातिर रोगले आक्रमण गर्ला कि, भन्ने चिन्ता छ भने अर्कोतिर भोकले मरिएला कि भन्ने सन्त्रास छ।
त्यस्तै डेढ वर्षदेखि पब्लिक हेल्थ प्रोफेसनमार्फत समाजसेवा गर्दै आएकी २४ वर्षिया निलम तामाङलाई लकडाउनले तनाव दिएको छ।
विभिन्न जिल्लाका विकट गाउँमा गएर गर्भवती महिला, सरसफाई र बालबालिका सम्बन्धि जनचेतना दिँदै आएकी निलम अहिले कोठामा थुनिएर बस्न बाध्य भएकी छन्।
सोलुखुम्बु, बाग्लुङ, नुवाकोटल, सिन्धुपाल्चोकजस्ता जिल्लामा गएर समाजसेवा गर्दै आएकी उनलाई अहिले घरमा बस्नुपर्दा छटपटी भइरहेको छ।
कार्य क्षेत्रमा जाँदा कहिले १५ दिन त कहिले महिना दिनसम्मै लाग्ने भन्दै उनले त्यहाँ जानुअघि सबै बन्दोवस्त अफिसले नै गरिदिने बताइन्।
जिल्लामा गएर मान्छेबिच अनुसन्धान गर्नु र उनीहरूलाई सेवा गर्नु नै आफ्नो काम भएको उनको भनाइ छ। सार्वजनिक रूपमा मान्छेलाई सहयोग गर्न पाउँदा खुसी भएको बताउँदैं उनले बिएल नेपाली सेवासंग भनिन्, ‘नयाँ ठाउँमा गएर मान्छेसँग कुरा गर्नु र उहाँहरूको सेवा गर्नु भाग्यकै कुरा हो।’
आफूले गर्दै आएको कामबाट आफू पूर्ण सन्तुष्ट भएको उनले बताइन्। 'मान्छेसँग बोल्न र सम्झौता गर्न सिकेकी छु। आफ्नो कामबाट म पूर्ण सन्तुष्ट छु। अन्य काममा लागेको भए मान्छेसँग सम्झौता गर्न बोल्न सक्दिनँ थिएँ होला सायद।’
अरूको सेवा गर्न पाउँदा आफूलाई अत्यान्त खुसी लाग्ने भन्दै उनले अहिले केही नगरी महिनौ दिनदेखि घरमा बस्दा दिक्क लागेको बताउँछिन्।
लकडाउनका कारण बाहिर निस्कनै नपाएकी उनले अनुसन्धान हुँदै गरेको कामसमेम बिचमै रोकिएको बताइन्। ‘४२ दिनभित्र सुत्केरी भएकी महिला को मृत्यु हुने विषयबारे अनुसन्धानमा जुटेका थियौं। तर लकडाउनका कारण अनुसन्धान बिचमै रोकिएको छ,’ उनले भनिन् ‘घरमै बसिरहनुपर्ने बाध्यता सकिएपछि फेरि आफ्नो काममा जुट्नेछु।’
कोरोना भाइरसबाट आफू पनि त्रसित भएको भन्दै उनले यसकै डरले घरबाट बाहिर ननिस्किएको बताइन्।
यतिबेला कोरोनाको उत्तम उपचार भनेको आफ्नो सुरक्षा आफैंले गर्नु भएको भन्दै उनले भाइरसबाट बच्न दिनमा कम्तिमा १०/१२ पटक साबुन पानीले हात धुनुपर्ने बताउँछिन्।