कोरोना संक्रमण ९ डिसेम्बरमा समाप्त हुने सिंगापुर विश्वविद्यालयकाे दावी

एजेन्सी

सिंगापुर

कोरोना भाइरसको संक्रमणले विश्व अहिले त्राहिमाम छ। विश्वव्यापी रूपमा २ लाखभन्दा बढी मानिसको निधन भइसकेको कोरोनाबाट अझै ३० लाख जना संक्रमित छन्। विश्वको आधाभन्दा बढी मानिस कोरोनाकै कारण लकडाउनको अवस्थामा छन्। 

यस्तो अवस्थामा सबैलाई कौतुहल लाग्नु स्वभाविक हो, आखिर यो कोरोनाको त्रास कहिले सकिन्छ। 

सिंगापुर विश्वविद्यालयको टेक्नोलोजी एन्ड डिजाइन विभागले हालै गरेको आर्टिफिसियल इन्टेलिजेन्स ड्रिवेन डाटाको सोधबाट यो खबर बाहिर ल्याएकाे छ, कोरोना भाइरसको संक्रमण यही वर्ष ९ डिसेम्बरसम्म समाप्त हुनेछ। 

साेधमा संलग्न प्रोफेसरहरुले यो महामारी समाप्त हुने तीन अनुमानित समय बताएका छन्। जसअनुसार कोरोना भाइरस ९७ प्रतिशत र ९९ प्रतिशत हुँदै सतप्रतिशत कहिले समाप्त हुन्छ भन्ने अध्ययनले देखाएको छ। 

यसमा विभिन्न देशमा कोरोना कहिले समाप्त हुन्छ भनेर पनि अनुमान गरिएको छ। जसअनुसार चीनको उहान शहरबाट फैलिएको कोरोना पूर्ण रूपमा चीनमा ९ अप्रिलसम्म समाप्त हुने बताइएको छ। चीनले हालै कोरोना नियन्त्रणमा आएको भन्दै उहानलगायत सबै शहरको लकडाउन हटाए पनि पछिल्लो समय फेरि केही स्थानमा कोरोना भाइरसको संक्रमण फेला परेको छ। 

यस्तै, सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा २७ अगस्टमा कोरोना समाप्त हुने दावी गरिएको छ। स्पेनमा ७ अगस्ट र इटलीमा २५ अगस्टमा कोरोनाको त्रास समाप्त हुने बताइएको छ। 

यस्तै, सोधमा कोरोनाको ९७ प्रतिशत संक्रमण ३० मेसम्म समाप्त हुने र १७ जुनमा ९९ प्रतिशत अवस्था ठिक हुने दावी गरिएको छ। 

सोधमा विश्वभरि दैनिकी कोरोनाको संक्रमण, यसबाट हुने मृत्यु र स्वास्थ्य लाभ गर्ने बिरामीको तथ्यांकको तुलनात्मक अध्ययन गरिएको थियो। 
 

प्रकाशित मिति: : 2020-04-28 14:43:00

प्रतिकृया दिनुहोस्